Dhulikhel Eco Banner new

‘आर्थिक क्षेत्रमा समस्या आउनुमा कुनै एक पक्षमात्र जिम्मेवार छैन’

8.29K
shares

काठमाडौं, १७ चैत । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका विरुद्धका आन्दोलन भइरहेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई दुव्र्यवहार पनि भइरहेको छ । यो अवस्था आउनुमा को कति जिम्मेवार ? के बैंक तथा वित्तीय संस्थाहरु मात्रै दोषि हुन त ? यसै पेरिफेरिमा केन्द्रित रहेर केटिएम भ्वाइसकर्मी रोजिना काप्रीले लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मासँग गरेको कुराकानीको सम्पादित अंश :

लघुवित्त क्षेत्रको वर्तमान अवस्थालाई कसरी हेर्नु भएको छ ?

लघुवित्त संस्थाहरु कतिका सहारा बनेका थियौं । ग्रामिण क्षेत्रका जनता विपन्नताबाट सम्पन्न बनेको थिए । तर पछिल्लो समय केहि व्यक्ति समूहहरुले लघुवित्त खराब हुन् । लघुवित्त बाट लिएको ऋण मिनाहा हुनुपर्छ र लघुवित्त नै खारेज गर्नुपर्छ भनेर आत्महत्या गराउँने लघुवित्त बिस्थापन गर्नु पर्छ भनेको सुन्दा निकै पिडा हुन्छ । व्यवसायीहरुलाई शोषण गर्ने लघुवित्त भनेर जुन उहाँहरुले गरेको आन्दोलन छ त्यो देखेर म निकै दुःखी हुन्छु ।

हामीले राम्रोसँग बुझाउँन सकेनौँ कि अथवा आफुबाट पनि कमजारी भयो कि भन्ने कुराले मलाई पिरोली रहेको छ । लघुवित्त खारेज गर्ने भनेर सडकमा उत्रेका छन् । हामीले ३० वर्षमा लघुवित्तको प्रणली तयार गरेका थियौँ । त्यो पनि बिना धितोमा ऋण लिन पाउने । एउटा गरिबलाई पैसा दिइयो भने उसले बचत पनि गर्दैन र ऋण पनि तिर्दैन भन्ने थियो त्यसलाई हामीले उत्खनन गरेको होइन ? विपन्न वर्ग पनि इमानजदार हुन्छन् भनेर ऋण प्रवाह गरेका थियौँ ।

विपन्न वर्गलाई पनि वित्तीय सेवा चाहिन्छ वित्तीय सेवा पाए भने उनीहरु पनि माथि उठ्न सक्छन् । पैसा पनि चाहिन्छ र उनीहरुले मद्धत पनि गर्न सक्छन् । अहिले हेर्दा हामीसँग ६४ वटा लघुवित्त संस्थाहरु रहेका छन् । लघुवित्तमा ६० प्रतिशत महिलाहरुको सहभागिता रहेको छ । हाम्रोले खुद्रा कारोबार मात्रै लगभग ४ खर्ब बढीको लगानी गरेका छौँ । त्यो पैसा हिजोसम्म खुलिरहेको थियो । तर अहिले विभिन्न समूहले हल्ला गरेर अहिलेको अवस्था सिर्जना भयो ।

त्यति मात्रै होइन विपन्न वर्गले जो सँग पैसा हुँदैन भनिन्थो त्यहिँ व्यक्तिहरुको पुस मसान्तसम्ममा १ खर्ब ६७ अर्ब पैसा छ । कसैले आफ्नो स्वार्थ पूरा गरेर लघुवित्त खारेज गर्नुपर्छ भनेका छन् । तर भोलि यो पैसा कहाँ राख्ने ? त्यसो गरेको देख्दा, सुन्दा दुःख लागेको छ ।

धमिलो पानीमा माछा मार्ने चाहानेहरुले यो अवस्था सिर्जना गरेका हुन् । यो अवस्था धेरै लामो समयसम्म रहदैन् । छिट्टै सकिन्छ । हामी अहिले आर्थिक मन्दीमा छौँ । विविध कारणले गर्दा मान्छेसँग पैसा छैन । जसले गर्दा मानिसहरु छट्पटाइरहेका छन् । कोभिडको कारणले केहि समय आर्थिक क्रियाकलाप भएन । त्यसको प्रभाव पनि अहिले देखिएको हो । कोभिडबाट पार नपाउँदै तरलता अभाव हुन पुग्यो । लगतै रसिया र युक्रेनको युद्ध सुरु भयो । यसबाट पनि अर्थतन्त्रमा असर गरेको छ ।

युद्धका कारण आपूर्ति अवस्था असज बन्यो । जसको प्रत्यक्ष प्रभाव उपभोक्तामा परेको छ । महंगीका कारण उपभोक्ता मारमा छन् भने ब्याजदर बढेकाले उत्पादन कम भएको छ । यी यावद कारणले व्यवसायी समस्यामा परेका छन् । तर अहिले जुन रुपमा आन्दोलन भइरहेको छ त्यो चाँही अफवा फैलाउने काम मात्रै हो ।

ब्याजदर चर्को भयो भन्ने छ । तर लघुवित्तको ब्याज कम छ । हामिले पनि भन्छौँ ब्याजदर कम हुनुपर्यो तर हाम्रो पनि स्रोत त हुनुपर्यो नि । पैसा भन्ने कुरा कसैको आफ्नो हुँदैन । निजी क्षेत्रको पैसा राखेर कतैबाट सापटी लिएर कसैसँग ऋण लिएको हुन्छ हामीले त्यता पनि ब्याज सहित तिर्नु पर्ने हुन्छ ।

अहिलेको अर्थतन्त्रमा देखिएको समस्या तपाईको बुझाइमा कुन तहको हो ?

मलाई लाग्छ यो एकदमै ठूलो समस्या हो । मेरो जीवनमा यस्तो अवस्थाको सिर्जना भएको थिएन् । मैले यस्तो अनुभव गरेको थिइन । २००८ मा दक्षिण एशियामा कता कता यस्तो भएको सुने पनि यो समस्या अलिकति भयावह नै हो । आर्थिक मन्दी र लघुवित्तको माध्ययमबाट आर्थिक स्थायित्वलाई खलल पार्ने काम भैरहेको छ ।

हामी गाउँ गाउँमा एकदमै तल्लो वर्गसम्म पुगेका छौँ । बैंक भनेको विश्वासमा चल्ने संस्था हो । जम्मा भएको पैसा फिर्ता गर्ने कर्जा दिने यसरी तपाईंले कमाएको पैसा सुरक्षितसँग राख्नु बैंकको कर्तव्य हो । बैंकले कर्जा मिनाहा गर्ने हो भने त बचत पनि फिर्ता गर्न सकिदैन नि ।

ठुला बैंकहरुमा पनि अहिले समस्या भैरहेको छ । ब्याजदर घटाउनु भनेको त बचत कर्ताको पनि ब्याजदर कम हुनु हो । त्यसैले दुबैको हित हुने गरी हुनु पर्छ ।

बैंक तथा वित्तीय क्षेत्रका विषयमा व्यावसायीहरु निकै आक्रोशित बनेका छन् । व्यावसायीहरु आक्रोशित हुनुको कारण केलाई मान्नु हुन्छ ?

आक्रोशित हुन चाहिँ उहाँहरुको लागत बढेको छ । कारोबार भएन । यदि त्यो मान्छेसँग पैसा थियो कारोबार भैरहेको थियो भने यो अवस्था सिर्जना हुँदैनथ्यो । मूल्य महंगो हुँदा किन्ने मान्छेको क्षमता कम भयो । उत्पादन गर्यो उत्पादन बिक्री हुँदैन, बैंकको ब्याजदर बढिरहेको छ । यो कारणले व्यवसायीहरु मर्कामा परेका छन् ।

समग्र रुपमा भन्ने हो भने यो कोभिडको कारण हो । यसले दुई वर्षको अवधिमा छियाछिया पारेको छ । जसका कारण उपभोक्ताको क्रयशक्ति पनि घटेको छ । त्यसैले व्यवसायीहरु सडकमा आउनु परेको अवस्था हो ।

व्यावसायीहरु सडकमै आउनुलाई सामान्य मान्न सकिए पनि मोसो दल्ने जस्ता अराजक अभियान पनि चलेका छन् । तर पनि सरकार मुखदर्शक जस्तो देखियो होइन ?

ब्याजदर महंगो भयो त्यसलाई कसरी कम गर्न सकिन्छ सोच्न सकिन्छ छलफल गर्न सकिन्छ । तर कानुन हातमा लिगेर मोसो दल्ने, टाउको फुटाउने, तालाबन्दी गर्ने यो कुरा कानूनी राज्यका लागि दुर्भाग्य हो । कानूनी राज्यमा यस्तो हुँदैन । हाम्रो देशमा जुन घटना भइरहेको छ । व्यवसायी सडकमा आउने, अर्को एउटा गु्रपले कर्जा मिनाहा गर भन्ने र अर्काले मोसो दलेर कर्जा प्रवाहमा बाधा पुर्याउने काम भइरहेको छ यसले हामीलाई सहि ठाउँमा लैजादैनन् । यस्ता गतिविधिलाई तत्कालै रोक्नु पर्छ ।

अहिलेको यो समस्या आउनुमा बैंकहरुको कमजोरी नै छैन त ?

बत्तिसै लक्षणले युक्त त कोहि पनि हुँदैन । कमजोरी रहित मान्छे कोही पनि हुँदैन सबैमा कुनै न कुनै कमजोरी पक्कै पनि हुन्छ । मैले एउटा कुरालाई राम्रो भन्छु अर्कोले अर्को कुरालाई राम्रो भन्ला यो फरक हुन्छ ।

एउटा मरेर अर्को बाच्ने होइन दुवै बाच्ने बाटो पैल्याउन सकिन्छ । हाम्रो परिवार चलेको त्यसैमा हो । हाम्रो संसार चलेको त्यसैमा हो । हाम्रो समाज चलेको त्यसैमा हो । हाम्रो राज्य चलेको त्यसैमा हो । तर यहाँ त एउटाको मर्का नबुझ्दा जवरजस्ती गर्दा यस्तो अवस्था भएको हो । त्यसैले बैंकिङ क्षेत्रमा कमजोरी नै छैन म भन्दिन । कमजोरी त्यहाँ पनि रहेको छ ।

लघुवित्त क्षेत्रमा पनि कमजोरी छ । समग्र आर्थिक क्षेत्र नै कमजोर बनिरहेको छ । यसलाई छलफलबाट समाधान गर्न सकिन्छ । सडकमा आन्दोलन गरेर यो समाधान हुँदैन । कानुन हातमा लिने कार्य कसैले पनि गर्नु हुँदैन् । बैंक पनि व्यावसाय हो । जसले व्यवसाय गर्नुहुन्छ उहाँ पनि व्यवसाय भइहाल्नु भयो । बैंकले पनि कसैको पैसा लिएर खर्च कटाएर नाफा जोडेर व्यवसाय गर्छ । अहिलेको सन्दर्भमा हेर्ने हो भने व्यपसायले पनि त्यही गर्ने हो । वस्तु तथा सेवा उत्पादन गर्ने हो । खर्च कटाएर लागत जोड्ने हो दुवै एउटै हो ।

बैंकहरुले सेवा बेच्छन् भने व्यवसायीहरुले वस्तु बेच्ने हो फरक यत्ति हो । यदि नाफा भएन भने बैंक पनि चल्दैन र व्यवसाय पनि चल्दैन । पूर्वको एक अभियानकर्ता मेडिकल व्यावसायी उहाँले साम्राज्य बनाउँदा बैंक चाहियो तर अहिले कुनै कारणले व्यवसायमा असर पर्यो भनेर बैंकको ऋण मिनाहा गर भनेर हुन्छ ।

जुन समयमा उहाँले उपभोग गर्नुभयो नि उपभोग गर्ने उहाँजस्ता धेरै रहेका छन् । उहाँ जस्तै व्यवसाय गर्न चाहानेहरु धरै होलान । जसलाई पैसा भविष्यमा चाहिन्छ त्यो गर्यो भने कसले पैसा दिन्छ । अब फेरी दुर्गा प्रसार्इं जस्ता मान्छे कहाँबाट उत्पन्न हुन्छन् ? बैंक राम्रो भए व्यवसाय राम्रो हुन्छ र बैंक र व्यवसाय कमजार हुँदा व्यवसायको उन्नती बिना बैंक बाच्न सक्दैन यो कुरा सत्य हो ।

अहिलेको अवस्था आउनुमा वित्तीय साक्षरताको कमीलाई पनि कारण मान्न सकिन्छ ?

वित्तीय साक्षरताको अभाव हुन पनि अहिले सडकमा आउनुको कारण हो । हामी लघुवितमा काम गर्नेले झन् गाउँगाउँमा वित्तीय साक्षरता पु¥याउन पर्छ । साक्षरताको एकदमै कमी छ । स्कुलमा साक्षरताको कमी छ । गाउँका महिलाहरुलाई वित्तीय साक्षरताको कमी छ । वित्तीय साक्षरता एकपटक दिएर पुग्ने कुरा होइन ।

अहिले जुन डिजिटल शिक्षाको कुरा आइरहेको छ । बैंकमा पनि नयाँ उत्पादन आउँछ । नयाँ प्रविधि आउँदा ठगीमा पनि नयाँ तरिका आउँछ । यसलाई बुझाउनु पर्ने आवश्यकता देखिन्छ ।

यस्तो समस्या आउँनुमा राष्ट्र बैंकको भूमिकालाई कसरी लिनुहुन्छ ?

केन्द्रीय बैंकले देशको अर्थतन्त्रलाई स्थायित्व दिने गर्छ । यो उसको मुख्य काम हो । यसलाई सन्तुलन राख्ने दायित्व उसैको हो । त्यो कार्य केन्द्रीय बैंकले गरिरहेको छ ।