Dhulikhel Eco Banner new

जबरालाई नजरबन्दमा राखेर राज्यले कानूनी राज्यको उपहास गर्यो : स्वतन्त्र कानुन व्यवसायी

6.07K
shares

 काठमाडौं, ३ असोज । स्वतन्त्र कानुन व्यवसायीहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले नजरबन्दमा राखेर कानुनी राज्यको उपहास गरेको आरोप लगाएका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई अवरोध नगर्न पनि आग्रह गरेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले जबरालाई नजरबन्दमा राखेर सरकारले गैरकानुनी, गैरसंवैधानिक कार्य गरेको भन्दै आपत्ति जनाएका हुन् । देशमा विधिको शासन कायम हुनुपर्ने उनीहरुको माग छ ।

संसदको कार्यकाल सकिएसँगै आफूमाथि लगाइएको महाभियोग निष्क्रिय भएको भन्दै निलम्बित प्रधानन्यायाधीश जबरा आइतबार सर्वोच्च अदालत जाने तयारीमा थिए । जबरा पुर्व निर्धारित समयअनुसार सर्वोच्च निस्कनुअघि नै उनको निवासको गेटमा प्रहरीले तालाबन्दी गरेको समाचार बाहिरिएका थिए ।

उनलाई सर्वोच्चमा प्रवेश गर्न नदिन नेपाल बार र सर्वोच्च बार कानुन व्यवसायीहरु धर्नामा बसेका थिए । अदालत परिसरमा प्रवेश गर्न नदिन व्यापक प्रहरी परिचालन समेत गरिएको थियो । जबराले नै आफूलाई नजरबन्दमा राखिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली नै उनको निवासमा पुगेको थियो ।

आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजनीतिक विश्लेषक प्रकाश रायमाझीले देश अहिले अराजकताको अवस्थामा रहेको बताए । जनहितविपरित जारी भएको संविधान पूर्ण रुपमा निस्तेज भएको उनको भनाइ थियो ।

उनले भने,‘अब संवैधानिक प्रक्रिया नभई राजनीतिक प्रक्रियाबाट निकास खोज्नुपर्छ ।’ अहिले नेपाल समस्यामा फसेको उल्लेख गर्दै उनले समस्याको घडीमा नेपाली सेना तमासा मात्र हेरेर बस्न नहुने धारणा राखे । सेनाले देशलाई निकास दिनुपर्ने धारणा राखे ।

उनले चोलेन्द्रलाई बलिको बोको बनाएर दलहरुले राजनीति गरिरहेको पनि टिप्पणी गरे । उनले अब नेपाली नागरिकहरु चुप बस्न नहुने भन्दै देश जोगाउने जिम्मेवारी आम नागरिकको पनि भएको भन्दै सडकमा आउन आह्वान गरे ।