राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
वि.सं.२०७९ माघ २३ सोमवार १३:३७
shares

काठमाडौं, २३ माघ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । उपाध्यक्षमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।
अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् । उनी एमालेमै रहँदा तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री थिइन् ।



















