GBIME

जुम्लाको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, १ महिलाको मृत्यू

750
shares

jकाठमाडौं, १९ जेठ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ मा रहेको देयारपाटामा केही समयदेखि फैलिएको भाइरल ज्वरोबाट १ महिलाको मृत्यु भएको छ । अहिलेसम्म गाँउमा ५३ जना विरामी फेला परेका छन् । ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका–७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन् ।

ज्वरोकै कारण दिपुको गत जेठ ६ गते मृत्यू भएको थियो । उनको मृत्यू पछि उनको घर वरिपरि विरामीले धेरै जनालाई थला परेपछि तत्कालै–७ का वडाध्यक्ष तेजबहादुर जिसीले जनस्वास्थ्य कार्यालय जुम्लामा खवर गरेका थिए।

अहिले कर्णाली प्रतिष्ठानको टोली र गाँउपालिका टोलीले चेकजाँच गर्दा ५३ जना विरामी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सुमाइले बताए ।

उनका अनुसार ५३ जना मध्ये ८ जना अलि गम्भीर प्रकृतिका थिए । जस्मा दुई जनालाई जुम्लाको सदरमुकाममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो। अहिले उनीहरु दुई जनाको प्रतिष्ठानमा उपचार भइरहेको छ । उपचारमा रहेकाहरुको अवस्था अहिले सामान्य रहेको जनस्वास्थ्य निरीक्षक सुमाइले बताए । कोभिडको शंकामा चेकजाँच गरिएको र उनीहरुको रिपोर्ट भोलि शनिबारसम्म आउने उनले बताए।

विरामीलाई ज्वरो आउनुका साथै आँखाको नानी र टाउको दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण देखा परेको छ । उक्त वडामा अहिले फेरि प्रतिष्ठानका डाक्टर विशाल रोकायासहित दुई जनाको टोली त्यहाँ खटाएको छ भने जनस्वास्थ्य कार्यालयले ४ जना स्वास्थ्यकर्मी परिचालन गरेको जनस्वास्थ्य निरीक्षक सुमाईले बताए।

गाउँभरी नै अहिले भाइरल ज्वरोको सक्रमण बढेपछि भाइरल ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो । उक्त वडामा १ सय १५ घरधुरी छन् । अहिले प्रत्येकको घर घरमै पुगेर स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेका छन् । स्थानीयको स्वास्थ्य चेकजाँच र औषधोपचारको काम भइरहेको कनका सुन्दरी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले बताए ।