दैनिक ३५ टोली सक्रिय
वि.सं.२०८० असोज १४ आइतवार १५:५८
shares

काठमाडौँ, १४ असोज । सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई जोड तोडका साथ अघि बढाएको छ ।
उपभोक्ताको हकअधिकार संरक्षण भन्दै मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाई छ ।
विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले साउन १ देखि अहिलेसम्म देशभर एक साथ संयुक्तरुपमा बजार अनुगमन जारी रहेको जानकारी दिँदै भने ‘एक हजार एक सय ४६ फार्ममा अनुगमन गर्दा ९२ लाख हजार २५ रुपैयाँ जरिवाना तिराइएको छ ।
एक करोडको मालवस्तु नष्ट
त्यस्तै ३४ फार्मबाट एक करोड दुई लाख रुपैयाँ मूल्यका मालवस्तु नष्ट गरिएको पोखरेलले जानकारी दिए । चाडपर्व लक्षित दैनिक ३५ टोलीबाट अनुगमन भइरहेको उनले बताए ।
आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुहरुको अनुगमनलाई तीव्रता दिइने भएको छ । विभागबाट प्राप्त विवरणअनुसार एक हजार एक सय ४६ फार्ममा अनुगमन गरी तीन सय ४७ फार्मलाई जरिवाना तिराइएको छ । कूल तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको छ भने जम्मा २६ फार्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको छ । अनुगमनलाई चाडपर्व सकिएपछि पनि निरन्तरता दिने सोचमा रहेको विभागले जानकारी दिएको छ । तर, चाडबाड सकिएपछि अनुगमन सून्य हुने गरेको छ ।



















