चन्द्रागिरीमा चलिरहेको बसमा भीषण आगलागी
वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:३७
shares

काठमाडौं, ११ वैशाख । चन्द्रागिरी नगरपालिका–१५ पिपलबोटस्थित मुख्य सडकमा गुडिरहेको एक सार्वजनिक बसमा बुधबार दिउँसो अचानक भीषण आगलागी भएको छ। कलंकीबाट थानकोटतर्फ गइरहेको पाँचपोखरी यातायातको बा.२.ख. ९७८६ नम्बरको बस इन्जिनको भागबाट अचानक आगो सल्किएपछि पूर्ण रूपमा जलेर नष्ट भएको हो।
प्रहरीका अनुसार आगलागी सुरु हुनासाथ बसभित्र रहेका यात्रुहरू आत्तिएर तुरुन्तै बाहिर निस्किन सफल भएका थिए, जसले मानवीय क्षति हुनबाट जोगिएको हो। बसमा सवार सबै यात्रु सुरक्षित छन्।
घटनापछि तत्कालै चन्द्रागिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, नेपाल प्रहरी र स्थानीयवासीको सहकार्यमा आगो नियन्त्रणमा ल्याइएको थियो। यद्यपि आगलागीका कारण बस पूर्णरूपमा जलेर नष्ट भइसकेको छ।
प्रारम्भिक अनुमान अनुसार इन्जिनको भागमा देखिएको प्राविधिक खराबीका कारण आगो लागेको हुन सक्ने आशंका गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















