Dhulikhel Eco Banner new

‘फाइनान्स कम्पनीहरूमा पनि रिकभरी चुनौती देखिएको छ’

16.39K
shares

काठमाडौं, १९ माघ । मञ्जुश्री फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तेजराज तिमिल्सीनाले मुलुकको समग्र आर्थिक मन्दीको प्रभाव बैंकिङ प्रणालीसँगै फाइनान्स कम्पनीहरूमा पनि परेको बताएका छन्। तरलताको अवस्था सहज बन्दै गए पनि कर्जा माग नबढ्नु अहिलेको मुख्य समस्या रहेको उनको भनाइ छ। केटिएम भ्वाइसले सुरु गरेको ‘फाइनान्स कनेक्ट’ सिरिजमा कुरा गर्दै अध्यक्ष तिमिल्सीनाले यस्तो बताएका हुन् ।

“बैंक तथा वित्तीय क्षेत्र सबैले आर्थिक स्लोडाउनको असर भोगिरहेका छन्,” सीईओ तिमिल्सीनाले भने, “ब्याजदर घट्दो अवस्थामा छ, तर कर्जाको माग छैन। उद्योग–व्यवसाय चलायमान नहुँदा कर्जा प्रवाह स्वाभाविक रूपमा घटेको छ।”

हालै बैंकिङ क्षेत्रमा देखिएका ऋणीबाट कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहारका घटनाप्रति प्रतिक्रिया दिँदै तिमिल्सीनाले यस्ता घटना अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताए। उनका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरूले सर्वसाधारणले जम्मा गरेको सानो–सानो निक्षेप संकलन गरेर त्यही पैसाबाट कर्जा प्रवाह गर्ने गर्छन्।

“निक्षेप भनेको जनताको पैसा हो। त्यो पैसा आवश्यक परेका व्यक्तिलाई कर्जा दिइन्छ,” उनले भने, “कर्जा समयमा फिर्ता नहुँदा निक्षेपकर्तालाई भुक्तानी गर्नुपर्ने दबाब हुन्छ। त्यसैले कर्जा असुलीमा अवरोध आउनु र कर्मचारीमाथि दुर्व्यवहार हुनु दुःखद हो।”

उनले फाइनान्स कम्पनीहरूमा पनि रिकभरी चुनौती देखिएको स्वीकार गरे। आफ्नो संस्थाको वित्तीय अवस्थाबारे बोल्दै सीईओ तिमिल्सीनाले मञ्जुश्री फाइनान्सको स्थिति सन्तोषजनक रहेको बताए। “देशको समग्र अवस्थाको असर हामीलाई पनि परेको छ,” उनले भने, “तर दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक भइसकेको छ। इम्पेयरमेन्ट धेरै उच्च छैन, अवस्था ठिकै छ।”

हाल बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी हुन नसक्नुको मुख्य कारण लगानीकर्तामा आत्मविश्वासको कमी रहेको उनको निष्कर्ष छ। “सस्तो ब्याजदरमा पनि कर्जा नलिनु भनेको लगानीकर्तामा कन्फिडेन्स नहुनु हो,” तिमिल्सीनाले भने, “ठूला उद्योग–धन्दा नचल्दा ठूला कर्जा प्रवाह हुन सकेको छैन।”

उनका अनुसार कर्जा लिएर व्यवसाय सुरु गर्न उद्यमीमा भविष्यप्रति भरोसा आवश्यक हुन्छ, जुन अहिले कमजोर देखिएको छ।

सीईओ तिमिल्सीनाले अहिले फन्डको लागत कम भएको र नेपालमै कृषि तथा उत्पादन क्षेत्रको ठूलो सम्भावना रहेको बताए। “पहिला बैंकको पैसा महँगो हुन्थ्यो, अहिले सहज छ,” उनले भने, “धेरै कुरा हामी आयात गर्छौं। कृषि र उत्पादन क्षेत्रमा नेपालमै धेरै गर्न सकिन्छ।”

तर युवाहरू विदेश पलायन भइरहेका र स्वदेशमै केही गर्ने मानसिकता कमजोर बन्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे।“यद्यपि नेपालमै उद्योग–व्यवसाय गरेर सफल भएका उदाहरण पनि छन्,” उनले थपे, “अहिले लगानी गर्न सक्नेहरूका लागि राम्रो अवसर छ।”

सम्पादकीय नोटः फाइनान्स कम्पनीबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘फाइनान्स कनेक्ट’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै फाइनान्स कम्पनीका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने फाइनान्स कम्पनी क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेर्छौ । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ ।

Follow Up

‘तरलता पर्याप्त भए पनि कन्फिडेन्सको अभावले ऋण लगानी प्रभावित बनेको छ’

‘तरलता पर्याप्त भए पनि कन्फिडेन्सको अभावले ऋण लगानी प्रभावित बनेको छ’

‘फाइनान्स कम्पनीहरूमा पनि रिकभरी चुनौती देखिएको छ’

‘फाइनान्स कम्पनीहरूमा पनि रिकभरी चुनौती देखिएको छ’

‘अर्थतन्त्र सुस्त हुँदा पनि फाइनान्स कम्पनीमा सुधार हुँदै गएको छ’

‘अर्थतन्त्र सुस्त हुँदा पनि फाइनान्स कम्पनीमा सुधार हुँदै गएको छ’