याम्बालिङ हाइड्रोपावरको आईपीओ आज बन्द हुने
वि.सं.२०८२ चैत २३ सोमवार १०:२९
shares

काठमाडौं, २३ चैत । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेपछि आजैदेखि आवेदन लिने कार्य बन्द गरिने भएको छ। थपिएको समयको पहिलो दिनमै मागभन्दा बढी आवेदन परेपछि कम्पनीले आज चैत २३ गते बैंकिङ समयपछि आवेदन बन्द गर्ने निर्णय गरेको हो।
सुरुमा अपेक्षाअनुसार आवेदन नपरेपछि कम्पनीले वैशाख ७ गतेसम्म समय थप गरेको थियो। तर अवधि लम्ब्याएको भोलिपल्टै अत्यधिक आवेदन परेपछि आईपीओ छिट्टै बन्द गर्नुपरेको कम्पनीले जनाएको छ।
कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएको थियो। प्रति कित्ता १०० रुपैयाँका दरले जारी गरिएको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो।
यो आईपीओ चैत ८ गतेदेखि निष्काशन तथा बिक्रीमा आएको हो। यसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले छोटो अवधिमै देखिएको उच्च मागले स्थानीय लगानीकर्ताको सहभागिता उत्साहजनक रहेको जनाएको छ।



















