ममाथि लागेका आरोपको सत्यतथ्य छानबिनमा पूर्ण सहयोग गर्छुः गृहमन्त्री गुरुङ
वि.सं.२०८३ वैशाख ७ सोमवार १४:१२
shares

काठमाडौं, ७ वैशाख । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर सार्वजनिक भएको सेयर लगानीसम्बन्धी विवादबारे स्पष्टीकरण दिएका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको बताएका छन्।
मन्त्री गुरुङले उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने र पार्टीले गर्ने निर्णयलाई स्वीकार गर्ने प्रतिबद्धता जनाएका छन्। आफूले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने आरोपको खण्डन गर्दै उनले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोड रुपैयाँभन्दा बढीको लगानी स्पष्ट रूपमा उल्लेख गरिएको बताएका छन्।
उनका अनुसार स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा गरिएको लगानी पनि सोही विवरणभित्र समेटिएको छ। यो विषय लुकाउने नभई वर्गीकरणसँग सम्बन्धित मात्र भएको उनको स्पष्टिकरण छ। “यदि लुकाउने मनसाय भएको भए २ करोडभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक नै गरिँदैनथ्यो,” उनले भने।
मन्त्री गुरुङले मन्त्री हुनुअघि नै सेयर खरिद गरिएको र उक्त लगानीको स्रोत २०८० भदौ २९ गते गरिएको ऋणको तमसुक रहेको खुलाएका छन्। सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएकोले प्रमाण सुरक्षित रहेको उनको भनाइ छ।
विवादित व्यक्तिसँग साझेदारी भएको भनिएको विषयमा टिप्पणी गर्दै उनले एउटै कम्पनीमा सयौँ सेयरधनी हुने भएकाले सेयर खरिदलाई सबैसँगको व्यक्तिगत साझेदारी भनेर व्याख्या गर्न नमिल्ने तर्क गरेका छन्।
यसैबीच शिवम् सिमेन्टमा गरिएको लगानीबारे पनि चर्चा भइरहेको छ। यसबारे प्रतिक्रिया दिँदै मन्त्री गुरुङले व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा नहुने बताएका छन्। “हरेक लगानीमा जोखिम हुन्छ, पछि भएका घटनाका आधारमा पहिलेको निर्णयलाई दोष दिनु न्यायोचित हुँदैन,” उनले भने।
‘स्वार्थको द्वन्द्व’ सम्बन्धी आरोपबारे स्पष्ट पार्दै उनले छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको जानकारी दिएका छन्। यदि आफूले पदको दुरुपयोग गरेको भए छानबिन प्रक्रिया अघि नै नबढ्ने उनको दाबी छ।
शहीदहरूको बलिदान र ‘जेनजी आन्दोलन’ को मर्मप्रति आफू जिम्मेवार रहेको उल्लेख गर्दै मन्त्री गुरुङले हल्लाको आधारमा होइन, प्रमाणका आधारमा निष्कर्षमा पुग्न सबैलाई आग्रह गरेका छन्।



















