स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी अब अनलाइनमै दर्ता गर्न सकिने
वि.सं.२०८३ वैशाख २३ बुधवार १०:१८
shares

काठमाडौं, २३ वैशाख । नेपाल सरकारले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकवाहक सवारी साधनका लागि अनलाइन दर्ता तथा राजश्व भुक्तानी प्रणाली सुरु गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले विकास गरेको यो प्रणालीले भारतीय तथा भारत भएर नेपाल आउने तेस्रो मुलुकका पर्यटकलाई सहजता प्रदान गर्ने लक्ष्य राखेको छ।
नयाँ प्रणालीको औपचारिक शुभारम्भ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक कार्यक्रममा गरे। प्रणाली सञ्चालनमा आएपछि अब विदेशी सवारी साधनले नेपाल प्रवेश गर्नुअघि नै अनलाइनमार्फत आफ्नो विवरण भर्न र आवश्यक राजश्व तिर्न सक्नेछन्।
यसअघि यस्ता सवारी साधनले भन्सार नाकामा पुगेर भौतिक रूपमा अस्थायी इजाजतपत्र लिनुपर्ने बाध्यता थियो। साथै, नेपाल भ्रमणका क्रममा इजाजत अवधि सकिएमा नवीकरणका लागि पुनः नाकामै जानुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था रहेको थियो। नयाँ व्यवस्था लागू भएसँगै यी प्रक्रियाहरू पूर्ण रूपमा डिजिटल बनेका छन्।
अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा पर्यटकले भोग्दै आएको झन्झट अन्त्य हुने विश्वास व्यक्त गर्दै सरकार सुशासन र छरितो सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताए । “पर्यटकलाई कुनै कठिनाइ नहोस् र सरकारी सेवा छिटो तथा प्रभावकारी बनोस् भन्ने उद्देश्यले यो प्रणाली सुरु गरिएको हो,” उनले भने।
भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीका अनुसार अब नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनसम्बन्धी सबै विवरण अनलाइनमै स्वयं घोषणा गर्न सकिनेछ, जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउनेछ। राजश्व भुक्तानी पनि अनलाइन वा बैंक काउन्टरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ।
अनलाइन भुक्तानीपछि सवारी साधनले इमेलमार्फत प्राप्त क्यूआर कोड भन्सारमा देखाएर नेपाल प्रवेश गर्न सक्नेछन्। उक्त क्यूआर कोडकै आधारमा देशभर आवागमन गर्न अनुमति दिइनेछ। साथै, यात्रा अवधि समाप्त भएमा पनि नेपालभित्रैबाट अनलाइनमार्फत अवधि थप गर्न सकिने सुविधा उपलब्ध हुनेछ।
यो सेवा प्रयोग गर्न भन्सार विभागको वेबसाइटमा गई ‘हाम्रा सेवाहरू’ अन्तर्गत रहेको टीआईभी (Temporary Import of Vehicle) मोड्युलमार्फत विवरण भर्नुपर्नेछ। सबै प्रक्रिया पूरा गरेपछि प्रयोगकर्ताले क्यूआर कोड प्राप्त गर्नेछन्, जसका आधारमा सवारी साधन नेपाल भित्रिन पाउनेछ।
भन्सार विभागका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत विकास गरिएको यो मोड्युलले विदेशी पर्यटकलाई थप सहजता प्रदान गर्नेछ। हालका लागि यो सेवा मुख्यतः भारतीय तथा बंगलादेशी पर्यटकका लागि उपयोगी हुने विश्वास गरिएको छ। चीनतर्फका नाकाबाट सवारी साधनको आवागमन न्यून रहे पनि भविष्यमा त्यस्ता सवारीका लागि पनि यो प्रणाली लागू हुने विभागले जनाएको छ।
















