Dhulikhel Eco Banner new

बैंकका कर्मचारीलाई ओभरटाइम सुविधा अनिवार्य, अपाङ्गमैत्री सेवा विस्तार गर्न राष्ट्र बैंकको निर्देशन

806
shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारीको सेवा सुविधा र सेवाग्राहीमैत्री बैंकिङ प्रणाली सुधार गर्न नयाँ निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले कार्यालय समयभन्दा बाहिर कर्मचारीलाई काममा खटाउँदा प्रचलित कानुनअनुसार अतिरिक्त परिश्रमिक अर्थात् ओभरटाइम भत्ता अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको हो।

निर्देशनअनुसार अब कुनै पनि कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ। बैंकहरूले कर्मचारीको श्रम अधिकारको सम्मान गर्दै आवश्यक सहमतिपछि मात्रै अतिरिक्त समय काम गराउनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

यससँगै राष्ट्र बैंकले बैंकिङ सेवा थप समावेशी र पहुँचयोग्य बनाउन पनि विशेष जोड दिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ। त्यसका लागि विशेष काउण्टर सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखालाई अपाङ्गमैत्री बनाउनुपर्नेछ। शाखामा ह्विलचेयर पहुँच, सहज सेवा संरचना तथा आवश्यक सहायक सुविधा अनिवार्य गर्न निर्देशन दिइएको हो।

त्यस्तै, ब्रेल साइन कन्ट्रोल बटन र अडियो सपोर्टसहित कम्तीमा एक अपाङ्गमैत्री एटिएम सञ्चालन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तो एटिएमको विवरण सम्बन्धित बैंकको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको यो कदमलाई बैंकिङ सेवा थप मानवमैत्री, समावेशी र आधुनिक बनाउने प्रयासका रूपमा हेरिएको छ। कर्मचारी अधिकार संरक्षणसँगै विशेष आवश्यकता भएका सेवाग्राहीलाई सहज पहुँच दिने नीतिले बैंकिङ क्षेत्रको सेवा गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।