कर्णालीलाई नयाँ पर्यटन गन्तव्य बनाउने प्रयास, ‘कर्णाली टुरिजम् मिट–२०२६’ बाट सकारात्मक सन्देश
वि.सं.२०८३ जेठ ९ शनिवार १७:४७
shares

सुर्खेतमा सुरु भएको ‘कर्णाली टुरिजम् मिट–२०२६’ ले कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने प्रयासलाई नयाँ गति दिएको छ । ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा कर्णालीको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र पर्यटन सम्भावनाबारे व्यापक छलफल गरिएको हो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णाली अब दुर्गम भूगोलको परिचयबाट बाहिर निस्केर विश्वस्तरीय पर्यटकीय गन्तव्यको रूपमा चिनिन थालेको बताए । उनले रारा, शे–फोक्सुण्डो, डोल्पा, हुम्ला र गुराँसेजस्ता क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कर्णालीलाई नेपाली सभ्यता, हिमाली संस्कृति र जैविक विविधताको जीवन्त केन्द्रको रूपमा व्याख्या गरे । अहिले विश्व पर्यटन बजार मौलिक अनुभवतर्फ आकर्षित भइरहेका बेला कर्णालीले त्यही विशेषता बोकेको उनको भनाइ थियो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले भारतीय पर्यटकका लागि कर्णाली आकर्षक गन्तव्य बन्न सक्ने बताए । सीमाबाट छोटो दूरीमै पुग्न सकिने भएकाले भारतीय बजार लक्षित पर्यटन प्याकेज र सेवा विस्तारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पनि कर्णालीलाई नयाँ पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले कर्णालीको प्राकृतिक वातावरण, चिसो मौसम र सांस्कृतिक विविधता भारतीय पर्यटकका लागि आकर्षक बन्न सक्ने बताएका छन् ।
आयोजकका अनुसार कार्यक्रमअन्तर्गत भारतीय पर्यटन व्यवसायी र पत्रकारलाई दैलेख, गुराँस र सुर्खेतका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गराइनेछ । सरकारी निकाय, निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य भए कर्णालीलाई नेपालको नयाँ ‘हाई भ्यालु टुरिजम् डेस्टिनेशन’ का रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
















