कोलकाताबाट विराटनगरका लागि पहिलो पटक ऐतिहासिक रेल कार्गो सेवाको शुभारम्भ
वि.सं.२०८३ साउन ३ आइतवार १०:३२
shares

काठमाडौं, ३ साउन । नेपाल-भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता विराटनगर रेलवे कार्गो ढुवानीको कार्य शुरु भएको छ। नेपाल-भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातको लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था बमोजिम भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (CBIC) ले ४ नोभेम्बर २०२५ मा जारी गरेको Notification No. 73/2025-Customs मार्फत इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ECTS) नियमावली, २०१९ मा संशोधन गर्दै भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो।
उक्त निर्णय कार्यान्वयन गराउन नेपाली महावाणिज्यदूतावासको निरन्तरको पहल पश्चात कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा Public Notice No. 13/2026 जारी गरी कोलकाता र हल्दियाबाट वीरगन्जका अतिरिक्त जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो। यस कार्यको कार्यान्वयनका लागि महावाणिज्यदूतावासले कोलकाता भन्सार, बन्दरगाह, सिपिङ्गलाइनसँग समन्वय गरी कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको छ। यस अवसरमा कोलकातास्थित नेपाली महावाणिज्यदूत श्री झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कलकता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरुले संयुक्तरुपमा हरियो झण्डा देखाई यस रेल कार्गोको शुभारम्भ गरे।
भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर – CONCOR) को रेल र्याकमार्फत प्रस्थान गरेको यस पहिलो ढुवानीमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ “CANOLA GRAIN-FARMER DRESSED” राखिएका Maersk Line का ४० वटा ४० फिटका उच्च क्षमताका कन्टेनरहरू रहेका छन्। यी कन्टेनरहरुमा Electronic Cargo Tracking System समेत जडान गरिएको छ। नेपाल-भारत सीमावर्ती क्षेत्र जोगबनी एकीकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म द्धण् फिटका कार्गो कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर पठाउन सकिने छ। सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो, न्यनू लागत हुने र करिव २४ घन्टाको समय अवधिमा विराटनगर पुग्ने भएकाले सवै प्रकारका वस्तु आयातमा सहज हुनेछ।
विगतमा वीरगञ्जमा मात्र यस्तो रेल कार्गो सुविधा उपलब्ध भएकोमा अब विराटनगरमा समेत रेल कार्गो मार्फत कन्टेनर र बल्क कार्गो नियमित रूपमा व्यावसायिक ढुवानी गर्ने बाटो खुला भएको छ। यस व्यवस्थाबाट बन्दरगाहमा नेपाली आयातकर्ताले बेहोर्नुपर्ने बिलम्ब शुल्क (Demurrage), कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार कम भई समग्र व्यापार पारवहन लागत (Logistics Cost) समेत उल्लेखनीय रूपमा न्यूनीकरण हुने, व्यापार सहजीकरणमा मद्दत पुग्ने र नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बलियो हुने विश्वास लिइएको छ।



















