Dhulikhel Eco Banner new

‘कोड फर इम्प्याक्ट’ का चार टोली राष्ट्रिय विजेता, अमेरिकी दूतावासद्वारा युवा नवप्रवर्तकलाई प्रविधिमा आधारित उद्यम विकासमा सहयोग

2.07K
shares

 काठमाडौं, ३ साउन । अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘कोड फर इम्प्याक्ट’ कार्यक्रमअन्तर्गत आयोजित ग्रान्ड फिनालेमा चार नेपाली टोली राष्ट्रिय विजेता घोषित भएका छन्। प्रविधिमा आधारित नवप्रवर्तनलाई उद्यममा रूपान्तरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा Aashirbad Care, DataHiti, Neptou र Synaptic विजेता बन्न सफल भएका हुन्।

अमेरिकी दूतावास नेपालको सहयोग तथा आद्यन्त एडभाइजरीको आयोजनामा  AmCham Nepal, SecurityPal AI, Fusemachines, Genese Solutions लगायतका साझेदार संस्थासँगको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा देशभरबाट छनोट भएका सात उत्कृष्ट टोलीले विगत ६ महिनादेखि विकास गरेका प्रविधिमा आधारित व्यवसायिक अवधारणा प्रस्तुत गरेका थिए।

विजेता प्रत्येक टोलीले एक हजार अमेरिकी डलरको प्रारम्भिक अनुदान, Amazon Web Services (AWS) बाट पाँच हजार अमेरिकी डलर बराबरको क्लाउड क्रेडिट, एनसेलबाट दुई लाख ५० हजार रुपैयाँको ग्रोथ ग्रान्ट, साथै कृत्रिम बौद्धिकता (AI) सम्बन्धी उपकरण, प्राविधिक सहयोग, ब्रान्डिङ, मेन्टरशिप तथा व्यवसाय विस्तारका अवसर प्राप्त गर्नेछन्। अन्य तीन फाइनलिस्ट टोलीले पनि AWS क्रेडिट तथा निरन्तर मार्गदर्शन प्राप्त गर्नेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स प्रमुख माइक हार्करले ‘कोड फर इम्प्याक्ट’ ले नेपालका युवा नवप्रवर्तकलाई व्यावहारिक सीप, उद्योगसँगको सहकार्य तथा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्‍याएको बताए। उनका अनुसार यसले नेपाल र अमेरिकाबीच प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउनेछ।

सन् २०२६ को जनवरीमा सुरु भएको कार्यक्रममा देशभरबाट आवेदन दिएका १९० टोलीमध्ये ३५ टोली छनोट भएका थिए। ती टोलीले भर्चुअल बुटक्याम्प, एआई प्रयोगशाला तथा सातै प्रदेशमा आयोजित ह्याकाथनमा सहभागिता जनाएका थिए। त्यसपछि १४ टोली सेमिफाइनलमा पुगेर चार महिनासम्म व्यवसाय विकास, ग्राहक परीक्षण, उत्पादन परिमार्जन तथा बजार रणनीति सम्बन्धी विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गरेका थिए।

कार्यक्रमकी सहसंस्थापक तथा प्रबन्ध निर्देशक स्तुति बस्नेतले उत्कृष्ट विचारलाई सफल व्यवसायमा रूपान्तरण गर्न आवश्यक समय, मार्गदर्शन र बजारसँगको पहुँच उपलब्ध गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्। यसैगरी, एनसेलकी विशाखा लक्ष्मी खड्काले नवप्रवर्तनलाई दीर्घकालीन प्रभावमा रूपान्तरण गर्न युवा उद्यमीलाई सशक्त बनाउने अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन्।

फाइनलमा पुगेका टोलीहरूले वृद्ध अभिभावकको हेरचाह, अन्तरदेशीय भुक्तानी, पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा, कृषि, विशेष आवश्यकता भएका बालबालिकाका लागि सिकाइ प्रविधि तथा नेपाली ब्रेललाई डिजिटल पाठमा रूपान्तरण गर्ने समाधानजस्ता विभिन्न क्षेत्रमा नवीन प्रविधि विकास गरेका छन्।

एमच्याम नेपालका अध्यक्ष कैलाश बिजयानन्दले उद्यमी, निजी क्षेत्र, लगानीकर्ता र प्रविधि नेतृत्वबीचको सहकार्यबाट मात्रै सशक्त नवप्रवर्तन प्रणाली निर्माण हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले नेपालमा उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमपछि आयोजित सिलिकन पिक्स मिक्सर  मार्फत फाइनलिस्ट टोलीहरूले सम्भावित लगानीकर्ता, ग्राहक, मेन्टर तथा व्यावसायिक साझेदारसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर समेत पाएका छन्। आयोजकका अनुसार सातै फाइनलिस्ट टोलीले आगामी दिनमा पनि मेन्टरशिप, प्राविधिक सहयोग तथा लगानीकर्तासँगको नेटवर्किङको सुविधा निरन्तर प्राप्त गर्नेछन्।