आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन
वि.सं.२०८३ साउन ६ बुधवार १३:१५
shares

काठमाडौं, ६ साउन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा २६ अर्ब ८३ करोड ५ लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ७४ करोड बढी राजस्व सङ्कलन भएको हो ।
कार्यालयले अघिल्लो आर्थिक वर्षमा २५ अर्ब ९ करोड ७ लाख राजस्व सङ्कलन गरेको थियो । गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन । कार्यालयका प्रमुख पुण्य विक्रम खड्काका अनुसार गत वर्ष आन्तरिक राजस्व विभागले ३१ अर्ब ५ करोड लक्ष्य दिएको थियो । अघिल्लो आवमा लक्ष्य रु २६ अर्ब ६० करोड रहेको थियो । गत वर्ष एउटा मदिरा उद्योग बन्द हुँदा ठूलो राजस्व गुमेको छ । सो उद्योगले अघिल्लो आर्थिक वर्षमा १ अर्ब राजस्व भुक्तानी गरेको थियो ।
खड्काका अनुसार गत वर्ष मदिराजन्य वस्तुको अन्तःशुल्क नबढेको, कतिपय प्लास्टिकका बोतललगायतमा अन्तःशुल्क हटेको, बढी अन्तःशुल्क तिर्ने कोकाकोलाको खपत घटेकोलगायतका कारणले राजस्वको लक्ष्यमा पुग्न नसकेको हो । त्यसैगरी, पूर्ण कर परीक्षणका विषयमा सरकारले नरम नीति लिएर भदौ २३ अघि पत्र जारी भएका र चार वर्ष म्याद पुगेकाको मात्र परीक्षण गरिएको उनले जानकारी दिए। अन्यको हकमा हालका लागि स्थगित गरिएको थियो । हरेक वर्ष कर छुट पाइन्छ भन्ने मानसिकताका कारण पनि समयमा बक्यौता नतिर्दा राजस्व सङ्कलनमा कमी भएको उनले बताए ।
कार्यालयले अग्रिम करकट्टी ४९ वटा करदाताको गरेको, १९७ वटा बजार अनुगमन गरेको, २४ वटा करदाता शिक्षा कार्यक्रम गरेको थियो । करदाता शिक्षाले मूल्य अभिवृद्धि करतर्फ रु ५६ करोड ५० लाख बक्यौता सङ्कलन भएको थियो । जुन लक्ष्यको १९८ प्रतिशत हो । आयकर भने ५ करोड ४१ लाखमात्र सङ्कलन भयो । यो १३ प्रतिशतमात्र हो । रु ४१ करोड बक्यौता आयात करमा उठाउने लक्ष्य कार्यालयको थियो । २१ करोड ४५ लाख बेरुजु फछ्र्योट गरिएको उनले जानकारी दिए। कार्यालयमा हाल ७४ हजार करदाता रहेका छन् ।
कार्यालयबाहेक जिल्लाका छ पालिकामा पनि करदाता सेवा दिने गरिएको छ । भरतपुर महानगरपालिकाबाहेकका पालिकाहरूले पान नम्बर वितरण, विवरण संशोधन, दर्ता खारेजी निवेदन, मूल्य अभिवृद्धि करको निवेदन दर्तालगायतका राजस्व सङ्कलनसँग सम्बन्धित काम गर्दछन् ।



















