Dhulikhel Eco Banner new

डिजिटल सुधारसँगै एक वर्षमा १२ हजारले पाए नागरिकता

416
shares

काठमाडौं, ६ साउन जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२र८३ मा सेवा प्रवाहलाई डिजिटल तथा नागरिकमैत्री बनाउँदै १२ हजार २७२ जनालाई वंशजका आधारमा नेपाली नागरिकता वितरण गरेको जनाएको छ।

कार्यालयका अनुसार सोही अवधिमा ११ हजार १०० जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन् भने ६३८ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको छ। यस्तै, ८ हजार ६०७ जनालाई राहदानी वितरण गरिएको छ।

राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत ३२ हजार ९९० जनाको दर्ता गरिएको छ भने २ हजार ६२५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ।राहदानी सेवा मार्फत मात्र ५ करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

शान्ति–सुरक्षा व्यवस्थापनतर्फ सीमा समन्वय बैठक, जिल्ला सुरक्षा समिति बैठक, कारागार निरीक्षण तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।

उनका अनुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राहदानी र राष्ट्रिय परिचयपत्रका लागि निःशुल्क फाराम भर्ने व्यवस्था, टोकन प्रणाली, नागरिक सहायता कक्ष, गुनासो व्यवस्थापन, अभिलेख डिजिटाइजेसन, एकद्वार सेवा तथा ‘बिचौलिया प्रवेश निषेध’ अभियान सञ्चालन गरिएको छ।