नेप्सेको सीईओका लागि आवेदन खुला
वि.सं.२०८३ साउन १२ मंगलवार ०८:५६
shares

काठमाडौँ — सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको छ।
सीईओ छनोटका लागि गठित सिफारिस समितिले योग्य नेपाली नागरिकलाई सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आग्रह गरेको छ।
उम्मेदवारले अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि वा कानूनसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सोसरहको योग्यता भएकाले पनि आवेदन दिन सक्नेछन्।
पुँजीबजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव र त्यसमध्ये सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव आवश्यक पर्ने सूचनामा उल्लेख छ।
आवेदकको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदनसँगै नेप्सेको भावी सञ्चालन र सुधारसम्बन्धी व्यावसायिक कार्ययोजना तीन प्रति खामबन्दी गरी बुझाउनुपर्नेछ।
आवेदन दस्तुर पाँच हजार रुपैयाँ तोकिएको छ। नेप्सेको सीईओ पद रिक्त भएपछि सरकारले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो।

















