डिजिटल कारोबार विस्तारसँगै अब नयाँ चुनौती ठगी
वि.सं.२०८३ भदौ २ मंगलवार ०६:५९
shares

डिजिटल बैंकिङ र विद्युतीय भुक्तानीको प्रयोग बढेसँगै वित्तीय ठगीका घटना पनि नयाँ स्वरूपमा देखिन थालेका छन्। बैंक खाता, मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर र सामाजिक सञ्जालमार्फत रकम ठगी हुने क्रम बढेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान र अन्तरनिकाय समन्वयलाई प्राथमिकता दिएको छ।
साइबर ठगीको अनुसन्धानमा बैंक तथा वालेटको कारोबार विवरण, स्क्रिनसट, लिंक, एसएमएस र अन्य डिजिटल प्रमाण महत्वपूर्ण बनेका छन्। रकम छोटो समयमै विभिन्न खातामा सारिने भएकाले सम्बन्धित बैंक तथा भुक्तानी सेवा प्रदायकसँग तत्काल सूचना आदानप्रदान आवश्यक देखिएको छ।
पछिल्लो समय फिसिङ लिंक पठाउने, नक्कली एसएमएस तथा एप प्रयोग गर्ने, ओटीपी र बैंकिङ विवरण माग्ने जस्ता ठगीका शैली बढेका छन्। कतिपय घटनामा अरू व्यक्तिको बैंक खाता, वालेट वा क्यूआर प्रयोग गरेर रकम संकलन गर्ने प्रवृत्तिसमेत देखिएको छ।
यस्ता घटनामा रकम पुगेको पहिलो खाता पहिचान गरेर मात्रै अनुसन्धान पूरा हुँदैन। रकम कुन–कुन खातामा सारियो र अन्तिम निकासा कसले गर्यो भन्ने वित्तीय ट्रेल पछ्याउनु अनुसन्धानको मुख्य पक्ष बनेको छ।
डिजिटल कारोबार विस्तारसँगै अब चुनौती ठगी भएपछि अपराधी खोज्नु मात्रै होइन, शंकास्पद कारोबार समयमै पहिचान गरी रकम रोक्नु पनि हो। त्यसका लागि प्रहरी, बैंक, भुक्तानी सेवा प्रदायक र नियामक निकायबीच छिटो समन्वयसँगै सर्वसाधारणमा डिजिटल सुरक्षासम्बन्धी सचेतना बढाउनुपर्ने देखिन्छ।
















