सिद्धार्थ बैंकको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
वि.सं.२०८३ भदौ २ मंगलवार ०९:४७
shares

काठमाडौं — सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले उक्त सेयर खरिदका लागि आवेदन खुला गरेको हो।
बिक्रीमा राखिएको सेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता विद्यमान संस्थापक सेयरधनीका लागि छुट्याइएको छ। उनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ।
बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ। यसका लागि पनि ३५ दिनको समयसीमा तोकिएको छ।
तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरे बाँकी सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।
इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
















