Dhulikhel Eco Banner new

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

520
shares

काठमाडौं, २ भदौ । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल)ले सडकखण्डको आवधिक मर्मत कार्यका लागि बोलपत्र आह्वान गरेपछि सम्भावित बोलपत्रदातालाई निर्माणस्थलको स्थलगत भ्रमण गराउनुका साथै प्रस्तावपूर्व छलफलसमेत गरेको हो ।

एमसीए–नेपालका अनुसार प्रस्तावपूर्वको छलफलमा विभिन्न निर्माण कम्पनीका ३१ जना प्रतिनिधिको सहभागिता थियो । त्यसमध्ये १८ जना प्रतिनिधिले अनलाइनमार्फत तथा १३ जनाले प्रत्यक्ष रूपमा सहभागिता जनाएका थिए । कार्यक्रमका क्रममा सम्भावित बोलपत्रदातालाई निर्माणस्थलको अवस्था, प्रस्तावित मर्मत कार्य, बोलपत्र प्रक्रिया तथा आवश्यकताबारे जानकारी दिइएको थियो । साथै सहभागीले राखेका विभिन्न जिज्ञासा तथा बोलपत्रसम्बन्धी प्रश्नको समेत स्पष्ट पारिएको एमसीए–नेपालले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत आयोजनाको प्रमुख कार्यमध्ये एक हो । आवधिक मर्मतपछि सडकखण्डको विद्यमान अवस्था सुधार हुनुका साथै यसको दीर्घकालीन कार्यसम्पादन तथा क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्छन् । भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा पर्ने यो सडकखण्डमा वर्षायाममा पहिरो तथा सडक क्षतिका कारण यातायात प्रभावित हुने गरेको छ । त्यसैले सडकको नियमित तथा आवधिक मर्मतलाई महत्त्वपूर्ण मानिएको छ । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत कार्यक्रमले सडकको तत्कालीन सुधारसँगै दीर्घकालीन रूपमा सडक पूर्वाधारको टिकाउपन र कार्यक्षमता बढाउने लक्ष्य राखेको छ ।