Dhulikhel Eco Banner new

रुपाकोट रिसोर्ट : आईपीओ ल्याउने तयारी

611
shares

काठमाडौं । कास्कीको रुपाकोटमा सञ्चालन हुँदै आएको रुपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ।

आईपीओ निष्कासन प्रक्रियाका लागि कम्पनीले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता दुवै संस्थाबीच सम्पन्न भएको हो।

एनआईसी एसिया क्यापिटलले कम्पनीलाई आईपीओ निष्कासनका लागि आवश्यक परामर्श, प्रक्रिया व्यवस्थापन र कानुनी सहजीकरण उपलब्ध गराउने जनाएको छ। क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न सहयोग गर्दै आएको छ।

पोखरा नजिकैको रुपाकोट क्षेत्रमा रहेको रिसोर्टले पर्यटन तथा आतिथ्य क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएको छ। हिमाली दृश्य, प्राकृतिक वातावरण र रुपा तथा बेगनास तालको अवलोकन गर्न सकिने स्थानका कारण रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको कम्पनीको दाबी छ।

रिसोर्टले आवास, खानपान, मनोरञ्जन तथा विभिन्न सभा–समारोह सञ्चालनका लागि आवश्यक पूर्वाधार विकास गर्दै आएको जनाएको छ। आईपीओमार्फत थप पूँजी जुटाएर व्यवसाय विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको छ।

पर्यटन क्षेत्रका कम्पनीहरू पछिल्लो समय पूँजी बजारमार्फत सर्वसाधारणको सहभागिता बढाउने प्रयासमा देखिएका छन्। रुपाकोट रिसोर्टको आईपीओ तयारीले आतिथ्य तथा पर्यटन क्षेत्रमा समेत पूँजी बजारको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।