Dhulikhel Eco Banner new

स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

676
shares

काठमाडौं,१२ कार्तिक। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।

स्थानीय समयअनुसार बिहान ८ः५४ बजे म्याड्रिडबाट करिब १२० किलोमिटर दक्षिणमा पर्ने टोलेडो प्रान्तको उर्दा स्टेसननजिक दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ ।

दुर्घटनास्थलको भ्रमणपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाबारे विस्तृत अनुसन्धान गर्ने घोषणा गरेका छन् । उनले सुरक्षा प्रणालीमा लापरबाही वा कमजोरी भएको पाइए जिम्मेवार पक्षमाथि कारबाही गरिने बताएका छन् ।

‘हामी घटनाको वास्तविक कारण पत्ता लगाउनेछौं । लापरबाही भएको वा सुरक्षा प्रणालीमा कमजोरी देखिए त्यसको गम्भीर रूपमा सम्बोधन गरिनेछ,’ सान्चेजले उद्धार तथा समन्वयका लागि स्थापना गरिएको नियन्त्रण केन्द्रबाट भने ।

प्रधानमन्त्री सान्चेजले अक्टोबर २९ देखि ३१ सम्म तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मी तथा आपत्कालीन सेवाका कर्मचारीको प्रशंसा गरेका छन् । दुर्घटनामा स्पेनको सरकारी रेल सेवा रेन्फेको एभीई र इर्यो कम्पनीको तीव्र गतिको रेल संलग्न थिए । म्याड्रिडबाट सेभिलतर्फ गइरहेका रेलमध्ये इर्योको रेलका पछिल्ला डिब्बा लिकबाट खसेर सडक किनारको भिरालो भागमा पुगेका थिए ।

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार प्रारम्भिक आकलनमा आटोचा नियन्त्रण केन्द्रमा रहेको एलजेडबी सुरक्षा प्रणालीसँग सम्बन्धित प्राविधिक समस्या हुन सक्ने देखिएको छ । यद्यपि दुर्घटनाको कारणबारे अन्तिम निष्कर्ष निकाल्न विस्तृत अनुसन्धान आवश्यक रहेको अधिकारीहरूले बताएका छन् ।

यस वर्ष स्पेनमा भएको यो दोस्रो ठूलो रेल दुर्घटना भएको जनाइएको छ । यसअघि जनवरीमा कोर्डोबामा रेल लिकबाट खसेको घटना भएको थियो । पछिल्लो दुर्घटनापछि तीव्र गतिको रेल सेवाको सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठेको छ ।

प्रधानमन्त्री सान्चेजले रेल सेवाप्रति नागरिकको विश्वास पुनःस्थापित गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले पनि दुःख व्यक्त गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले मृतकका परिवार र आफन्तप्रति समवेदना व्यक्त गर्दै युरोप स्पेनको दुःखमा साथमा रहेको बताएकी छन् । युरोपेली संघकी विदेश नीतिप्रमुख काजा कलासले पनि स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसलाई समवेदना सन्देश पठाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

स्पेनको राजपरिवारले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । राजा फेलिपे छैटौंले भ्यालेन्सियास्थित जैमे सैन्य आधार शिविरमा आफ्नो सैन्य तालिमसम्बन्धी कार्यक्रम छोट्याएर तत्काल म्याड्रिड फर्कने घोषणा गरेका छन् । उनले उद्धार कार्यको अवस्था बुझ्न र प्रभावित परिवारलाई आवश्यक संस्थागत सहयोगको समन्वय गर्न आफू फर्कन लागेको बताएका छन् । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान अघि बढाइँदै गर्दा स्पेन सरकारले रेल सुरक्षासम्बन्धी व्यवस्थाको समीक्षा गर्ने जनाएको छ ।