Mangaldeep Aagarbatti
GBIME

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी गर्छन् कमानसिंह

1.11K
shares

काठमाडौं, २२ माघ । पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल । झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घर सजाउन रोपेका फूलका बगैँचाजस्तै लाग्छ ।

तर यो त विगत १५ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आएका कृषक कमानसिंह दर्लामीको व्यवसाय हो । उमेरले ६३ वर्ष कट्नुभएका दर्लामीले कुनै चलनचल्तीको व्यवसाय भने गरेका होइनन् । सुन्दा अच्चम लाग्ने तर दाम, नाम र इज्जत कमाएरै फूलखेतीबाट दैनिकी चलाउँदै आएका छन् ।

तराईको फाँट कटेपछि झण्डै ३० किलोमिटर पहाड उक्लियौँ भने अर्घाखाँची शीतगङ्गा नगरपालिका ठाडाका एक किसानको घरमा फुलाएको फूलले यस्तै रमणीय दृश्य देख्न सकिन्छ । अर्घाखाँचीलगायत कपिलवस्तु, रूपन्देही, दाङ, नवलपरासीसम्म पुष्प व्यवसायका रूपमा नाम कमाएका दर्लामीले यसैबाट दैनिकी चलाउँदै आएका छन् । पुष्पखेतीबाट मासिक रू ३५ हजारसम्म आम्दानी गर्ने उनले बताए । सानै उमेरदेखि फूलका सौखिन दर्लामीले कुनै बेला यसरी फूलको खेती गरिएला भन्ने सोचेका थिएनन् ।

“सानैदेखि आर्टको काम गर्दै आएको हुँ, आर्टको काम गर्दा थुप्रै चित्र बनाएको छु । त्यही पेसा गर्दैगर्दा पुष्पखेती गर्ने सोच पलायो । शोखले गरेको पुष्पखेती एकाएक फैलिएर व्यवसायका रूपमा परिणत भयो”, दर्लामीले भने ।

छ सन्तानका बाबु उनी जागिरको सिलसिलामा भारतका विभिन्न स्थानसम्म पुगेका छन् । नेपालमै केही वर्ष अध्यापनको अनुभव पनि छ ।

उनले आफ्नो साढे छ रोपनी जग्गामा पुष्पखेती गरेको बताए । बाह्रै महिना फुल्ने फूल लगाउनुभएका उनले विशेषगरी तिहारमा बढी प्रयोग गरिए पनि अघिपछि त्यति प्रयोग नगरिने अनुभव सुनाए । फूलको व्यापार पनि मौसमअनुसार हुने उनको भनाइ छ । उनी भन्छन्, “बाह्रै महिना मेरो माग बढ्दो छ । फूलमात्रै नभएर फूलका बिरुवा पनि उत्पादन गर्ने गरेको छु । मैले उत्पादन गरेका फूलका बिरुवा ठूला नर्सरीमा लगाउँछन् ।”

अहिले उनी यिनै फूल लिएर कपिलवस्तु झरेका छन् । यही माघ १७ गतेदेखि जारी कपिलवस्तु महोत्सवमा उनले फूलको स्टल राखेका छन् । केही वर्षयता कपिलवस्तु महोत्सवमा स्टल राख्दै आउनुभएका उहाँले यस वर्ष पनि निरन्तरता दिएको बताए । महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई उनले फूलखेती लगाउने तरिका पनि सिकाउने गरेका छन् । कतिपयले महोत्सवबाट घरमा शोभाका लागि फूलका बिरुवा किनेर लैजाने गरेको उनले सनाए ।

कृषि तथा पर्यटन महोत्सवमा आयोजकले आफूलाई स्टल ल्याउन आग्रह गरेकाले यहाँ आएको उनले सुनाए । कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने महोत्सवमा आफूले स्टल लैजाने गरेको उनले बताए ।

पुष्प व्यवसायी दर्लामीले लालुपाते, गजेनियाँ, हेसराज, बेगुनिया, जिरेनियम, डगफ्लावर, सयपत्री, टिकुमा, कृष्णकली, सालविया, गोदावरीलगायत दुई दर्जनभन्दा बढी जातका फूल लगाउने गरेका छन् । उनले तीन जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ भने अन्य चार–पाँच जनालाई सिजनअनुसार जागिर दिँदै आएको उनले बताए ।

National life Banner
Dhulikhel Eco Resort 1200*100