यातायात मजदुरको अन्दोलनले बालाजु क्षेत्र तनाव ग्रस्त, जलाए प्रहरीकाे भ्यान
वि.सं.२०७९ फागुन १ सोमवार १९:२२
shares

काठमाडौं, १ फागुन । मजदुर कुटिएको विरोधमा आन्दोलित यातायात मजदुरले प्रहरीको भ्यान जलाएका छन् । बालाजु बाइपासमा आन्दोलरत व्यवसायीहरुले रोकिराखेको प्रहरीको भ्यानमा आगजनी गरेको हो ।
सरकारले स्वतन्त्र मजदुर संगठनका माग पुरा नगरेपछि भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिइएको छ ।
स्वतन्त्र मजदुर संगठनले सरकारले माग सम्बोधन नगरेको भन्दै देशभर आन्दोलन गर्ने बताएको हो । सोहि अनुरुप सरकार विरुद्ध यातायात मजदुर संगठनले आजदेखि माछापोखरी क्षेत्रबाट आन्दोलन सुरु गरेका छन ।
नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से कम्पनीका प्रबन्ध सुनिल कुँवरलगायतकाले मजदुरमाथि हातपात गरेको भन्दै विरोधमा उत्रिएका थिए । प्रर्दशन थप हिंसात्मक बन्दै गएको छ ।
अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् । मजदुरहरू गाडी तेर्स्याएर सडकमा उत्रिएका छन् ।


















