Dhulikhel Eco Banner new

छोरी पढाऔँ, गरिमा बढाऔँ अभियान : ८४ दलित बालबालिकालाई छात्रवृति प्रदान

13.48K
shares

काठमाडौैं, २९ जेठ । मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका दलित समुदायका ८४ बालबालिकालाई छात्रवृत्ति रकम स्वरुप १० लाख ८ हजार रुपैयाँ वितरण गरेको छ ।
समाजले छोरी पढाऔँ : गरिमा बढाऔँ भन्ने आह्वानसहित शुरु गरेको कर्णाली प्रदेश केन्द्रित ३ वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत कर्णाली प्रदेशका ६ जिल्लाका ८४ जना दलित समुदायका बालिकालाई पहिलो वर्षको छात्रवृत्ति रकम १० लाख ८ हजार रुपैयाँ वितरण गरेको हो ।

जेठ २४ देखि जेठ २९ सम्म कालिकोटको शुभपालिकास्थित पञ्चकालिका मा.वि.का १३ जना, खाडचक्र मान्मस्थित जनजीवन मा.वि.का १६ जना, जुम्लाको मष्टामडुस्थित अन्नपूर्ण मा.वि.का १० जना, लुड्कुस्थित कनकासुन्दरी मा.वि.का १२ जना, मुगुको महाकाली नमूना मा.वि.का ८ जना, नेपाल राष्ट्रिय मिन मा.वि. भारेकोटका ३ जना, दैलेखको महादेव मा.वि. तल्लो डुंगेश्वरका १० जना र सुर्खेतमा आश्रय लिइरहेका बादी समुदायका ६ जना, कक्षा ६ मा अध्यनरत दलित समुदायका ७८ जना बालिकालाई १२ हजार रुपैयाँका दरले पहिलो वर्षको छात्रवृत्ति रकम शान्ति समाजको टोलीले सम्बिन्धित बालिकाहरुलाई प्रदान गरेको थियो ।

यसैगरी हुम्लाको सर्केगाडस्थित अंशुवर्मा आधारभूत विद्यालयका ३ जना र हुम्लाकै श्री हिमज्योति मा.वि सर्केगार्डका ३ जना गरी ६ जना दलित समुदायका बालिकालाई छात्रवृत्ति वितरण गर्न विद्यालय सम्बन्धित व्यक्तिलाई बैंकबाट रकम पठाइएको छ ।

कर्णाली केन्द्रीत ३ वर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सचिव रामप्रसाद जोशी, मोरङ शाखा सभापति प्रा.डा. जीवन ढकाल, सदस्य तथा शुभचिन्तकहरु दानबहादुर रोकाय, रणबहादुर खड्का, यामबहादुर श्रेष्ठ, कृष्णा न्यौपाने भुसाल, घनश्याम खड्का, युद्ध कोइराला, डा. ललितजंग शाही, एस आर पाण्डे, केशरीकुमारी बस्नेत, ईश्वर सापकोटा लगायत ७८ जनाले छात्रवृत्ति रकम सहयोग गर्नुभएको छ । यससँगै शान्ति समाजले शुरु गरेको ५ वर्षे र ३ वर्षे छात्रवृत्ति संख्या १२१ पुगेको छ ।