Dhulikhel Eco Banner new

बालाई लालपूर्जा फिर्ता गर्न ससुरालीसँग ऋण

21.44K
shares

काठमाडौं, १८ असोज । अहिलेका सफल पर्यटन व्यवसायी चन्द्र रिजाल कुनै बेला विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी विद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेला एउटा काण्ड घट्यो ‘पजेरो काण्ड’ । तत्कालिन समाजले पजेको काण्डका विषयमा प्रश्न नउठाएका होइनन् । सत्तामा रहेका नेपाली कांग्रेस र एमाले जस्ता ठूला पार्टी नेतृत्वले प्रश्न गर्नेहरुलाई जवाफ दिने झन्झट गरेन । सरकार बनाउने गिराउने खेल जारी रह्यो । कांग्रेस, एमाले सरकार बनाउने र ढाल्ने ठूला खेलाडीका रुपमा चिनिन्थे भने राप्रपा च्याँखे दाउ थाप्थ्यो ।

पिपल्स क्याम्पसमा बिकम पढ्दै थिए चन्द्र रिजाल । मान्छेसंग घुलमिल हुने, आफ्ना योजनाका बरेमा अरु दुई चार जनालाई सुनाइहाल्ने उनको स्वभाव अनुरुप विद्यार्थी राजनीतिमा पनि नेतृत्वमै थिए ।

राजनीतिमा सक्रिय हुने बाटो खोजिरहँदा उनको आउने जाने बाटो ठमेल क्षेत्र थियो । जहाँ विभिन्न मुलुकका नागरिक आहोर दोहोर गरिरहेका हुन्थे । रिजाललाई लाग्थ्यो ‘यिनै मान्छेसंग जोडिएर काम गर्नुपर्छ ।’ विदेशी नागरिकलाई टार्गेट गरिएका होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सीहरु छिटफूट थिए ।

रिजालले डिप्लोमा पढ्दै गर्दा अच्युतराज उपाध्याय आइए पढ्दै थिए । उनीहरुको दोस्ती गज्जब थियो । उपाध्यायका मामा पनि पर्यटनमै काम गर्थे । एकदिन उपाध्याले भने ‘मेरो मामा पर्यटनमा काम गर्नु हुन्छ भेटन जाउँ ।’ रिजालको खास काम थिएन । साथीको मामा भेट्न साथीको पछि लागेर गए । होराइजन होटल भन्ने थियो । मामा त्यही थिए साथीको मामाको लाइफस्टाइल देख्दा उनलाई लोभ लाग्यो । सफा वातावरण । विदेशीसंग कुरा गरिरहेका । ‘म पनि अब यस्तै काम गर्छु ।’ उनी मनमनै लोभिए ।

उनको मास्टर्स सकियो । १०-५ काे जागिर खान मन थिएन । व्यवसाय गर्न पैसा चाहिन्थ्यो । हुन त त्यतिबेलै उनको काठमाडौंमा घर थियो । छुट्टै जग्गा पनि । बाको पौरखले बनाएको घर उनले चाहँदैमा केही गर्न सक्दैन थिए । एउटा उपाय थियो । घर जग्गा बैंकमा राखेर लोन निकालेर काम गर्ने । ‘बुबालाई फकाउछु र होटल खोल्छु ।’ मनमनै योजना बनाए तर, आँट आएन । उनै साथीलाई लिएर गाउँ गए (धादिङ खाल्टे) गाउँका पण्डित अनि शिक्षक पनि । कडा मिजासका थिए बा । उनका साथी बोल्नमा निकै सिपालु थिए । एकै रातमा बालाई कन्भिन्स गरे ।

काठमाडौं फर्किए । सरस्वती क्याम्पसका तत्कालिन स्ववियु सभापति राजेन्द्र पुडाशैेनीसंग रिजालकाे कुराकानी भयाे । पुडाशैनिले कृषि विकास बैंकबाट लाेन लिने प्रकृयामा निकै सघाए । अनि हिंडे नैकापमा भएको जग्गाको लालपूर्जा बोकेर पुगे कृषि विकास बैंक । बैंकले  लोन दियो । रिजाल भन्छन् `राजेन्द्र पुडाशैनीकाे सहयाेग म कहिल्यै बिर्सन सक्दिन ।´ उनीसहित चार जना मिलेर ज्याठमा सुरु गरे ‘होटल डिप्लोम्याट’ ।

१५ मार्चमा सन १९९९ मा होटल सुरु गरे । विजनेश राम्रो थियो । विवाह गरे । त्यसपछि भने सम्भावना भन्दा चुनौती धेरै देखिन थाल्यो । बच्चा जन्मिने बित्तिकै बिरामी भयो । लामो समय हस्पिटल बस्नु प¥यो । समय, पैसा र बच्चालाई अस्पतालबाट विदा गरेर रित्तो हात घर फर्किए ।

माओवादी ‘जनयुद्ध’ चर्किन थाल्यो । होटलका पार्टनर साथीहरु पढ्नका लागि एक जना अमेरिका, अर्को बेलायत उडे । यहिँ केही गर्छु भन्थे अर्का साथी । उनी पनि इलाम फर्किए । त्यही बेला घरबेटीले भाडा बढाए । होटल त जसरी पनि चलाउनु थियो । उनले निर्णय गरे ‘अब फरेन मात्रै हैन भारतिय पर्यटक पनि राख्छु ।’

लगभग १२ वर्ष होटल चलाए । साथी मार्फत बालाई कन्भिन्स गरेर कृषि विकास बैंकमा राखेको लालपूर्जा बालाई जस्ताको तस्तै फिर्ता गर्न निकै सकस प¥यो । होटलले केही कमाई गरेको थियो भने केही पैसा ससुरालीसंग मागे र बालाई लापूर्जा फिर्ता गरे ।

ट्राभल एजेन्सी, होटललगायत पर्यटनसंग सम्बन्धित विभिन्न व्यापार व्यवसाय गरेका रिजाल अहिले पर्यटनको निती बनाउने मध्ये एउटा संस्था पर्यटन बोर्डको उपाध्यक्ष छन् । पर्यटन व्यवसायको अतिरिक्त राजनीतिमा समेत सक्रिय रिजाल अब राजनीतिमा सक्रिय हुने योजनामा छन् । उनी दावी गर्दै भन्छन् ‘म राजनीतिमा केही पाउनका लागि हैन समाजका लागि केही दिनका लागि हो ।’