एक महिनामा पाठयपुस्तक छपाइ सम्पन्न गर्न सरकारलाई निर्देशन
वि.सं.२०७९ जेठ ११ बुधवार १७:०२
shares

काठमाडौं, ११ जेठ । सरकारलाई विद्यालय तहको पाठ्यपस्तुक बाँकी रहेको छपाईको कार्य एक महिना भित्र सम्मन्न गर्नका लागि शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । समितिले पाठ्यपुस्तक छपाईको काम एक महिना भित्र सकेर सबै विद्यार्थीको हातहातमा पु¥याउने व्यवस्था गर्नका लागि निर्देशन दिएको हो ।
समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकि छपाई एक महिना भित्र छपाई सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु¥याउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो । छापिएको पुस्तक पनि तत्काल विद्यार्थीहरुलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देश दिएको हो । समितिले ३५ लाख बाँकि पुस्तक छपाईको काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
सभापति घर्तीले भनिन्– ‘तत्काल जो जति छापिएको छ, छापिएकोलाई तुरुन्त पुर्याउनु पर्यो । जति छापिएको छैन । त्यसलाई तुरुन्तै छाप्नका लागि जसले जिम्मा लिएको छ उसले अरु प्रेसहरुलाई पनि दिएर तुरुन्तै एक महिना भित्र विद्यार्थीहरुको हातमा पुस्तक पुर्याउनका लागि समिति सरकारलाई निर्देशन दिन चाहन्छ ।’
समितिले विद्यालय तहको पाठयपुस्तक समयमै विद्यार्थीहरुको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाईको काम प्रदेश सरकार र वितरणको काम स्थानीय तहलाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । सरकारी विद्यालयहरुमा पाठयपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले यसको समाधानका लागि प्रदेश सरकारलाई छपाईको र सम्बन्धित स्थानीय तहलाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति घर्तीले बताइन् ।















