एमालेद्वारा बालेनको जरिवाना पत्र बुझ्न अस्वीकार
वि.सं.२०८१ मंसिर ९ आइतवार १४:४१
shares

काठमाडौं, ९ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।
गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो । गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।
महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको जनाएको छ ।



















