Dhulikhel Eco Banner new

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लघुवित्तको लागि स्वागतयोग्य छ : बसन्त लम्साल

2.33K
shares

काठमाडौं, १४ फागुन । नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष बसन्त लम्सालले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा व्याज दर परिवर्तन गर्ने अधिकार दिएकोमा स्वागत व्यक्त गरेका छन् ।

उनले आफूहरूले उठाउदै आएको माग पूरा भएको बताए ।

‘हामीले म संघको अध्यक्ष हुँदा नै लघुवित्त संस्थाहरूलाई आधार दर अनुसार कर्जा दर निर्धारण गर्न पाउने माग गरेको थियौँ’ उनले भने, ‘अहिले हाम्रो माग अनुसार निर्णय भएको छ, जसले लघुवित्त संस्थाहरूको वासलातमा सकारात्मक प्रभाव पार्नेछ ।’

विशेष गरी वाणिज्य बैंकबाट सापटी लिई व्यवसाय गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई यस निर्णयले ठूलो फाइदा पुर्याउने उनले बताए । वर्तमानमा, वाणिज्य बैंकसँग सापटी लिँदा १२/१३ प्रतिशतको आधार दर आउने स्थिति थियो । अब, आधार दरसँग जोडेर केही प्रिमियम थपेर कर्जा व्याज दर निर्धारण गर्न सकिने प्रावधानले दीर्घकालीन रूपमा लघुवित्तलाई लाभ पुर्‍याउने उनको भनाइ थियो ।

लम्सालका अनुसार, तरलता अभावका समयमा वाणिज्य बैंकहरूले कर्जा व्याज बढाउँदा लघुवित्त संस्थाले १५ प्रतिशतमा कर्जा दिनुपर्ने स्थिति अन्त्य भएको छ । यसले घाटामा चलिरहेका व्यवसायको समस्यामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा व्याज दर निर्धारणको अधिकार दिएको छ । अब, लघुवित्त संस्थाहरू आधार दरसँग आबद्ध भएर कर्जा व्याज दर तय गर्न सक्नेछन् । नयाँ कर्जा व्याज दर २०८२ को जेठ महिनादेखि लागू हुनेछ ।

यस निर्णयले लघुवित्त संस्थाहरूलाई थप लचकता र आफ्नो व्यावसायिक मोडेलमा सुधार ल्याउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।