GBIME

कर्मचारीहरुलाई सञ्चयकोषको व्यवस्था र सेवासुविधा बढाउन अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनको माग

2.2K
shares

काठमाडौं, १ असार । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले कर्मचारीहरुको सेवा/सुविधा बढाउन माग गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै एशोसिएसनले अतिरिक्त हुलाकका कर्मचारीले पनि अन्य राष्ट्रसेवक कर्मचारीको जत्ति नै सेवा सुविधा पाउनु पर्ने भन्दै तलव वृद्धि गर्न सरकारसँग माग गरेको हो ।

उनीहरुले अवकासपछि रित्तो हात फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सुविधासहित कर्मचारीहरुलाई विदाई गर्नुपर्ने पनि माग अघि सारेका छन् ।

एशोसिएनसनले तलव स्केल अत्यन्त अन्यायपूर्ण भएको भन्दै पुरा कामसहित तलव स्केल वैज्ञानिक र व्यवहारिक बनाइनुपर्ने समेत प्रस्ताव अघि बढाएको छ ।
त्यस्तै, संचित बिरामी बिदाको रकम एक मुस्ट दिने व्यवस्था गर्न, सिमित बिदावापत जिल्ला तथा ईलाका हुलाकका कर्मचारीले पाएसरह थप एक महिनाको पारिश्रमिक पाउनुपर्ने, पोशाकसहितका अन्य सुविधाहरु उपलब्ध गराइनुपर्ने पनि सरकारसँग एशोसिएसनको माग छ ।

मूल्य बृद्धिको अनुपातमा राष्ट्रसेवक कर्मचारीको तलव बृद्धि हुँदा हुलाकका कर्मचारीको पनि एकै साथ बृद्धि गरिनुपर्ने, अतिरिक्त हुलाक नियमावली २०३४ तत्काल परिमार्जन गरिनु पर्ने र संचयकोषको व्यवस्था गर्न समेत सरकारसँग आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एशोसियसनका अध्यक्ष टंकप्रसाद हुमागाँईले अतिरिक्त हुलाक भनेको नेपालको एउटा भित्रि बस्तीसम्म पुगेको सरकारको सेवा पुर्याउने संस्था भएको बताए । जुन सरकारले आज ११ हजार कर्मचारीहरुको सेवासुविधा नबढाएको जिकिर गरे । तलव स्केल अत्यन्त अन्यायपूर्ण रहेको सन्दर्भमा पुरा कामसहित तलव स्केल वैज्ञानिक र व्यहवारिक बनाइनु पर्नेमा उनले जोड दिए ।