जडीबुटी कम्पनीको आगलागी : करिब २८ करोडको क्षति, राष्ट्रिय अर्थतन्त्रमा गम्भीर प्रहार
वि.सं.२०८१ चैत २५ सोमवार १८:०५
shares

काठमाडौं, २५ चैत । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा भएको आगजनीबाट देशको ठूलो अर्थतन्त्रमाथि प्रहार भएको भएको छ ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका प्रवक्ता धर्मलाल नेपालले आगजनीबाट करिव २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताएका छन् ।
कम्पनीको उत्पादन भवन, प्रशासनिक भवन, उपकरणहरू, चार वटा गाडी, एक वटा मोटरसाइकल, प्रशोधन गरी स्टक राखेको सञ्चो समेत नष्ट भएको जानकारी दिए ।
उनले प्रारम्भिक अध्ययन अनुसार करिब २८ करोड क्षति पुगेको देखिएता पनि यसको विस्तृत मूल्यांकन रिपोर्टमा केहि थप हुन सक्ने समेत जानकारी दिए ।
कम्पनीमा प्रशोधन गरेर स्टक राखेको करिब २० लाख सञ्चोका बोतल समेत नष्ट भएको छ भन्दै उनले उत्पादन भवन पूर्ण रूपमा क्षति पुगेको जानकारी गराएका हुन् । यसैगरी उत्पादन तथा प्रशोधन प्रयोजनमा प्रयोग हुने सम्पूर्ण उपकरण क्षति भएका छन् ।
उनका अनुसार विगत लामो समय देखि विश्वभर जडीबुटीहरूले विभिन्न रोग निको पार्न र समग्र जनकल्याण बढाउन प्रयोग हुँदै आएको नेपाल औषधीय जडीबुटी (आयुर्वेदिक जडीबुटी) र सुगन्धित वनस्पतिहरू भएकोले विश्वभर नै यो कम्पनी प्रसिद्ध रहेको छ ।
नेपालले आफ्नो उच्च मूल्यवान वन उत्पादनहरू भारत र चीन लगायत छिमेकी देशहरूमा निर्यात गर्दै आएको औषधि र सुगन्धित वनस्पति र गैर(काठ वन उत्पादनहरूको सम्भावना रहेकोमा यसरी आक्रमण हुनु देशकै लागि दुःखद विषय रहेको उनको भनाई छ ।
उनले नेपाली जडीबुटीहरू हिमाली क्षेत्रको वनस्पति औषधीय गुणहरू हुने भएकाले बजार मूल्य समेत उच्च हुने गरेको जानकारी दिए ।
उक्त कम्पनीको केन्द्रीय कार्यालयमा चैत १५ गते राजावादी समूहले तोडफोड र आगजनी गरेका थिए । सो आगजनीबाट भएको क्षतिको विस्तृत मूल्यांकन गर्नको लागि पाँच सदस्यीय मूल्यांकन समिति गठन भएको भन्दै प्रवक्ता नेपालले रिपोर्ट आउन अझै १० दिन लाग्ने समेत उनले जानकारी दिए ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई पुनःनिमार्णको लागि नेपाल सरकारसँग पहल भईरहेको भन्दै यथाशिघ्र सोही स्थानमा नयाँ भवन निर्माण प्रकृयामा तदारुक्ताको साथ अगाडी बढाई कम्पनी संञ्चालन गरिने समेत उनले जानकारी दिए ।


















