Dhulikhel Eco Banner new

गभर्नर नियुक्ति प्रकरण : श्रेष्ठको राजीनामा पत्र नै गायब

3.5K
shares

काठमाडौं,६ वैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले दिएको राजीनामा पत्र नै गायब भएको छ। गभर्नर नियुक्तिको मिति नजिकिएसँगै करिब दुई साता अगाडि नै प्रकाश श्रेष्ठले राजीनामा पत्र बुझाएका थिए तर उक्त पत्र नै अहिले बेपत्ता भएको गभर्नर कार्यालय निकट स्रोतले बताएको छ ।

राष्ट्र बैंकको कार्यकारी निर्देशक भएकै बखत सरकारले उनलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो। योजना आयोगको सदस्यमा नियुक्त हुँदा राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिनुपर्दैन। तर गभर्नर नियुक्ति हुनका लागि भने कार्यकारी निर्देशक पदमा बहाल रहन पाइँदैन ।

डक्टर श्रेष्ठ यसअघि पनि लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्ष थिए। नेपाल राष्ट्र बैंकको निर्देशक रहँदा प्रदेश योजना आयोगको उपाध्यक्ष बनेका श्रेष्ठ कार्यकारी निर्देशकमा बढुवा भएपछि भन्ने योजना आयोगबाट बिदा लिएर राष्ट्र बैंक फर्किएका थिए।

अहिले नेकपा एमाले नेतृत्वको सरकार रहेको र उनलाई माया गर्ने एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री रहेका छन्। यसकारण प्रकाश श्रेष्ठले गभर्नर बन्न पाउँछु भन्ने आश गरेका थिए। उनले राजीनामा दिने बेला महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर थिए तर उनी अवकाश पाएपछि वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना कार्यवाहक गभर्नरको जिम्मेवारीमा छिन्।

प्रकाश श्रेष्ठले बुझाएको पत्र गभर्नरको कार्यालयमा दर्ता भएको भनिए पनि निलम ढुंगानाको कार्यकक्षसम्म अहिले नपुगेको गभर्नर कार्यालयकै एक अधिकारीले जानकारी दिए । हुन त अब डाक्टर प्रकाश श्रेष्ठको गभर्नर बन्ने सम्भावना अत्यन्तै न्यून बनेको छ।

यसकारण पनि प्रकाश श्रेष्ठले आफ्नो राजीनामा पत्र स्वीकृत भएको नभएको बारे त्यति चासो राखेका छैनन्। डाक्टर गुणाकर भट्ट नियुक्त हुनेछन्। यद्यपि डाक्टर गुणाकर भट्टको राजीनामा पनि अहिलेसम्म स्वीकृत भएको छैन। उक्त समितिले सिफारिस गर्नुअघि गुणाकर भट्टको राजीनामा स्वीकृत भइसक्नुपर्नेछ। अन्यथा हुने गभर्नर बन्न पाउने छैनन् ।