Dhulikhel Eco Banner new

११ महिनामा २२ करोडको चुइगम आयात, अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत भन्दा कम

2.09K
shares

काठमाडौं, ७ असार । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपालले २२ करोड रुपैयाँभन्दा बढीको चुइगम विदेशबाट आयात गरेको छ। भन्सार विभागका अनुसार, साउनदेखि जेठसम्म नेपालले २२ करोड २६ लाख ६८ हजार रुपैयाँ बराबरको चुइगम आयात गरेको हो।

यो अवधिमा ४ लाख २३ हजार १ सय ९० किलो चुइगम नेपाल भित्रिएको छ। उक्त आयातबाट सरकारले १८ करोड २४ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ।

चुइगम आयातमा भारत अग्रस्थानमा रहेको छ। भारतबाट मात्रै १८ करोड ६४ लाख रुपैयाँको चुइगम भित्रिएको छ भने अमेरिकाबाट २ करोड २८ लाख रुपैयाँको चुइगम आयात भएको छ। अन्य आपूर्तिकर्ता देशमा चीन, हङकङ लगायत पर्छन्।

पछिल्ला तथ्यांक अघिल्लो आर्थिक वर्षको तुलनामा निकै कम छन्। गत वर्षको ११ महिनामा ५६ करोड ४४ लाख १६ हजार रुपैयाँ बराबरको १५ लाख ७२ हजार किलो चुइगम आयात भएको थियो। त्यतिबेला सरकारले ४५ करोड ३८ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।