पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
वि.सं.२०८२ असार १० मंगलवार १०:४०
shares

काठमाडौं, १० असार। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा एक अर्ब छ करोड ४३ लाख अर्थात् ५.६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ ।
आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ५.७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख ८७ हजारले बढेको छ । कार्यालयको तथ्यांकनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार राजस्व संकलन भएको छ ।
उक्त अवधिमा आठ अर्ब ११ करोड ५९ लाख मूल्य पर्ने ९३ हजार आठ सय २४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी छ अर्ब २६ करोड ७१ लाख मूल्य पर्ने ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी,सोही अवधिमा दुई अर्ब ५९ करोड मूल्य पर्ने २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, रु ६१ करोड २० लाख मूल्य पर्ने छ हजार ७०८ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख मूल्य पर्ने दुई हजार ५२० किलोलिटर मट्टितेल आयात भएको छ ।



















