एनआईसी एशिया बैंकले ल्यायो लिलाम बिक्री पोर्टल, सम्पत्ति सम्बन्धी विस्तृत विवरण एकै स्थानमा
वि.सं.२०८२ साउन १ बिहीवार १७:२९
shares

काठमाडौं, १ साउन। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ तथा गैर-बैंकिङ सम्पत्ति, साथै धितोमा रहेको सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले एक नयाँ अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले उक्त पोर्टलमार्फत लिलाम बिक्रीका लागि राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा लोकेशनसहित सम्पूर्ण विवरण सहज रुपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। ग्राहकहरूले बैंकद्वारा सार्वजनिक गरिएको लिलामी सूचनामा समावेश क्युआर कोड स्क्यान गरेर सो पोर्टलमा प्रवेश गर्न सक्नेछन्।
बैंकले उक्त पोर्टलमा सम्पत्ति सम्बन्धी स्थानको पहिचानका लागि गुगल म्यापको लिंकसमेत उपलब्ध गराएको छ, जसले प्रयोगकर्ताहरूलाई वस्तुस्थितिको जानकारी सहज बनाउनेछ।
थप जानकारी आवश्यक परेमा ग्राहकहरूले सम्पत्ति विवरण भएको स्थानमै रहेको म्यासेज बक्स प्रयोग गरी आफ्नो पूरा नाम, इमेल, सम्पर्क नम्बर तथा ठेगाना राखी सोधपुछ गर्न सक्नेछन्।
एनआईसी एशिया बैंकले आफ्नो अनलाइन पोर्टलमा नियमित रूपमा लिलामीमा राखिने सम्पत्ति तथा सम्बन्धित जानकारीहरू अद्यावधिक गरिने जानकारी दिँदै, इच्छुक ग्राहकहरूलाई सो पोर्टल प्रयोग गरी सजिलो, पारदर्शी र विश्वासिलो तरिकाले सम्पत्ति खरिदमा सहभागी हुन आग्रह गरेको छ।


















