स्वास्थ्य बीमा नवीकरणमा छुट र जरिवानाको नयाँ व्यवस्था लागू
वि.सं.२०८२ साउन ६ मंगलवार १३:०२
shares

काठमाडौं, ६ साउन । स्वास्थ्य बीमा बोर्डले बीमालेख नवीकरणलाई थप व्यवस्थित, पारदर्शी र नियमित बनाउने उद्देश्यले नयाँ कार्यविधि लागू गरेको छ। ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ नाम दिइएको यस कार्यविधिअनुसार अब नियमित रूपमा बीमा नवीकरण गर्ने नागरिकले छुट पाउनेछन् भने ढिलाइ गर्नेले जरिवाना तिर्नुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार तीन वर्षसम्म लगातार बीमा नवीकरण गर्नेले सेवा लिँदा लाग्ने सह–भुक्तानी रकममा १० प्रतिशत छुट पाउनेछन्। यस्तै, चारदेखि सात वर्षसम्म नवीकरण गर्नेले २० प्रतिशत र सात वर्षभन्दा बढी समयदेखि नियमित नवीकरण गर्नेले ३० प्रतिशत छुट प्राप्त गर्नेछन्।
बोर्डले यस प्रकारको छुट व्यवस्थाले नागरिकहरूलाई समयमै नवीकरण गर्न प्रेरित गर्ने र स्वास्थ्य बीमा प्रणालीलाई दीर्घकालीन रूपमा टिकाउ बनाउने विश्वास लिएको छ।
यता, बीमालेखको म्याद सकिएपछि नवीकरण गर्नेलाई जरिवाना लाग्ने व्यवस्था गरिएको छ। म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा योगदान रकममा १० प्रतिशत र छ महिनाभित्र गरेमा ३० प्रतिशतसम्म अतिरिक्त शुल्क लाग्नेछ।
नागरिकहरूलाई समयमै नवीकरणको जानकारी दिनका लागि बीमालेखको म्याद सकिनुभन्दा एक महिना अघिनै सूचना दिने व्यवस्था पनि कार्यविधिमा उल्लेख गरिएको छ।
स्वास्थ्य बीमा बोर्डले नागरिकहरूलाई समयमै नवीकरण गरी छुटको फाइदा लिन र जरिवाना तथा सेवा अवरोधबाट बच्न आग्रह गरेको छ।



















