दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत एक लाख घुससहित रंगेहात पक्राउ
वि.सं.२०८२ असोज ३ शुक्रवार ११:४६
shares

काठमाडौं, ३ असोज । डुंगेश्वर गाउँपालिका, दैलेखका सातौं तहका लेखा अधिकृत टंक बहादुर कार्की एक लाख रुपैयाँ घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका छन्।
कार्कीले गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो।
सूचनाको आधारमा खटिएको अख्तियारको टंगाल र सुर्खेत कार्यालयको संयुक्त टोलीले कार्कीलाई एक लाख रुपैयाँ घुससहित मंगलगढी चोक, विरेन्द्रनगर नगरपालिका–९, सुर्खेतबाट पक्राउ गरेको हो। अख्तियारले उनलाई असोज २ गते नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।
अख्तियारका अनुसार कार्कीले सेवाग्राहीलाई बिल पास गरिदिने नाममा गैरकानुनी रुपमा घुस मागेर लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो।
पक्राउ परेका कार्कीमाथि हाल घुस लिने सम्बन्धी कसूरमा अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।















