धितोपत्र बोर्डद्वारा १५ मिनेटको औसत मूल्य प्रणाली स्थगित
वि.सं.२०८२ असोज ५ आइतवार १०:०२
shares

काठमाडौं, ५ असोज । नेपाल धितोपत्र बोर्डले प्रस्तावित १५ मिनेटको औसत मूल्य गणना प्रणाली तत्काल लागू नगर्ने निर्णय गरेको छ। शनिबार बसेको बोर्ड बैठकले लगानीकर्ताको तीव्र विरोधलाई मध्यनजर गर्दै उक्त व्यवस्था हाललाई स्थगित गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार, लगानीकर्ताको मागलाई प्राथमिकतामा राख्दै यो निर्णय लिइएको हो। शनिबार बिहानैदेखि बोर्डको कार्यालय परिसरमा दर्जनौं लगानीकर्ता भेला भई औसत मूल्य गणनाको प्रस्तावविरुद्ध प्रदर्शन गर्दै आएका थिए।
उक्त प्रणाली लागू भएमा कारोबारको मूल्य निर्धारण अन्तिम कारोबार मूल्यको सट्टा पछिल्ला १५ मिनेटको औसत मूल्यका आधारमा हुने व्यवस्था प्रस्ताव गरिएको थियो। तर लगानीकर्ताले यसले बजार पारदर्शिता र तरलता प्रभावित गर्ने भन्दै कडा आपत्ति जनाउँदै आएका थिए।
अबका लागि पहिलेको जस्तै अन्तिम कारोबार मूल्यलाई नै मूल्य निर्धारणको आधार बनाइने भएको छ। बोर्डले भने आगामी दिनमा व्यापक छलफल र परामर्शपछि मात्र यस्तो प्रणाली कार्यान्वयन गर्ने या नगर्नेबारे निर्णय गरिने जनाएको छ।



















