Dhulikhel Eco Banner new

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

2K
shares

काठमाडौं, ५ असोज । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा मंगलबार होटल एलो पगोडा, काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनी तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।

सभाको प्रारम्भमा प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले स्वागत मन्तव्य दिँदै कम्पनीको उद्देश्य परिवर्तनको प्रस्ताव र सर्वसाधारणमा शेयर जारी गर्नु पर्ने आवश्यकता बारे प्रकाश पारे। उनले नयाँ लगानीकर्तालाई आकर्षित गर्ने रणनीति र कम्पनीको भविष्यको योजनाबारे समेत जानकारी गराए।

अध्यक्ष शाहले आफ्नो मन्तव्यमा नेक्सजेनको स्थापना कालदेखि हालसम्मको प्रगति, वर्तमान वित्तीय स्थिति, आगामी योजना तथा रणनीतिबारे विस्तृत जानकारी प्रस्तुत गरे। सञ्चालक अजय कुमार मिश्रले उद्योग तथा व्यवसायमा लगानीसँग जोडिएका जोखिम र अवसरबारे धारणा राख्दै समयानुकूल लगानीका फाइदामाथि जोड दिए।

सभामा संस्थापक रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रित मनोरञ्जन रमण शर्मा र विजय बहादुर शाहले कम्पनीको हालको गतिविधि र भविष्य रणनीतिसम्बन्धी विभिन्न जिज्ञासा राखे। उठेका प्रश्नहरूको उत्तर अध्यक्ष शाह र प्रबन्ध सञ्चालक भट्टराईले स्पष्ट रूपमा दिए।

साधारण सभाले आ.व. २०८१र०८२ को वित्तीय प्रतिवेदन पारित गर्दै कम्पनीको उद्देश्यमा थप व्यवस्था गर्ने निर्णय गरेको छ। साथै, आ।व। २०८२र०८३ का लागि लेखा परीक्षक नियुक्तिको प्रस्ताव पनि पारित गरिएको छ।

सभाले जारी तथा चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउने क्रममा प्रिमियममा थप संस्थापक शेयर बिक्री गर्ने, ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने तथा सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड मा गरिएको लगानीको अनुमोदन सर्वसम्मतिले गरेको छ।

२०७५ सालमा स्थापना भएको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेड विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा रहँदै आएको छ। गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले चालू आर्थिक वर्षको मुनाफा जगेडा कोषमा सारेको जानकारी गराइएको छ। कम्पनीको नेटवर्थ अंकित मूल्य १०० रुपैयाँभन्दा माथि रहेको छ। नेक्सजेनले निकट भविष्यमा नयाँ लगानीकर्ता समेट्दै कम्पनीको आकार र व्यवसाय दुवैमा वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।