तीन महिनामा ६७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात
वि.सं.२०८२ कात्तिक ९ आइतवार १५:५१
shares

काठमाडौं, ९ कात्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले करिब ६७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा पेट्रोल, डिजेल र एलपी ग्यासको आयात उल्लेख्य रूपमा बढेको छ।
भन्सार विभागका अनुसार असोज मसान्तसम्म १६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख रुपैयाँ बराबरको डिजेल, र १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँको एलपी ग्यास नेपालमा भित्रिएको छ। यसरी कुल मिलाएर करिब ६७ अर्ब रुपैयाँ बराबरको तेल र ग्यास आयात भएको विभागले जनाएको छ।
पेट्रोलियम पदार्थपछि जनावर तथा वनस्पति तेल दोस्रो सबैभन्दा बढी आयात हुने वस्तु बनेको छ। यो अवधिमा यस वस्तु समूहको आयात ४० अर्ब रुपैयाँभन्दा बढी भएको छ। त्यस्तै, विद्युतीय सामग्री र तिनका पार्ट्स को आयात ३४ अर्ब रुपैयाँ बराबर, र फलाम तथा स्टिलजन्य पदार्थ को आयात पनि करिब ३४ अर्ब रुपैयाँ बराबर रहेको विभागले जनाएको छ।



















