पहिलो त्रैमासमा पाँच गुणा वृद्धि, ६ सय किलोभन्दा बढी सुन आयात
वि.सं.२०८२ कात्तिक ९ आइतवार १६:१७
shares

काठमाडौं, ९ कात्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपालमा सुन आयात उच्च दरले बढेको छ। भन्सार विभागका अनुसार साउनदेखि असोज मसान्तसम्मको तीन महिनामा मात्रै ६ सय ६ किलो सुन नेपालमा आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा मात्र १ सय १३.५ किलो सुन आयात भएको थियो। तर, चालु आवको पहिलो त्रैमासमा ६ सय १ किलो काँचो सुन र करिब ५ किलो सुनका गरगहना आयात भएको विभागले जनाएको छ।
सुन आयात बढ्नुको मुख्य कारण सुनको मूल्य वृद्धिसँगै लगानीकर्ताको आकर्षण बढ्नु हो। पछिल्लो समय बजारमा सुनको माग तीव्र रूपमा बढेको र आपूर्ति न्यून भएकाले अभाव सिर्जना भएको थियो। यही कारण सरकारले सुन आयात कोटा पनि बढाएर दैनिक २० किलोबाट २५ किलो पुर्याएको हो।
गत आर्थिक वर्षमा सुन आयात कोटा सीमित थियो। साथै, अर्थतन्त्रमा देखिएको सुस्तताका कारण लगानीकर्ताले सुनमा लगानी घटाएका थिए, जसले गर्दा सो अवधिमा सुन आयात कम भएको देखिन्छ। तर, चालु वर्षको पहिलो त्रैमासमा विदेशी मुद्रा सञ्चितिमा आएको सुधारपछि सुनतर्फको लगानीमा पनि वृद्धि भएको विभागको विश्लेषण छ।
सुनको मूल्यमा आएको निरन्तर सुधार र लगानीकर्ताको बढी रुचिले आयात बढ्नमा महत्वपूर्ण भूमिका खेलेको छ। बैंकहरूले आयात गरेको सुन गहना व्यवसायीहरूले खरिद गरी सर्वसाधारणमा बिक्री गर्ने गरेका छन्।
चालु आवको पहिलो त्रैमासमा १० अर्ब २५ करोड रुपैयाँ बराबरको काँचो सुन आयात भएको छ। यसबाट सरकारले १ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। त्यस्तै, ७ करोड १५ लाख रुपैयाँ बराबरका सुनका गरगहना आयात भएका छन्, जसबाट ३४ लाख रुपैयाँ राजस्व आम्दानी भएको विभागले जनाएको छ।



















