Dhulikhel Eco Banner new

वाणिज्य बैंकहरू पहिलो त्रैमासमै १३ अर्ब १४ करोड नाफामा, १५ बैंकको नाफा घट्यो

2.81K
shares

काठमाडौं, २१ कात्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकले घटेको हो। गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कुल नाफा १६ अर्ब १८ करोड ९४ लाख ५८ हजार रुपैयाँ थियो। यस अवधिमा १५ बैंकको नाफा घटेको छ भने ५ बैंकको मात्रै बढेको छ।

समीक्षा अवधिमा ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंक बनेको छ। बैंकले तीन महिनामा आफ्नो नाफा २२.९२ प्रतिशतले बढाएर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ पुर्‍याएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ थियो। दोस्रो स्थानमा नबिल बैंक रहेको छ जसले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ तर उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशतले घटेको हो। तेस्रो स्थानमा रहेको प्राइम बैंकले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ जसमा २.२० प्रतिशतले गिरावट आएको छ।

एभरेष्ट बैंकको नाफा ४.५७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने पाँचौँ स्थानमा रहेको कुमारी बैंकको नाफा २ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा वृद्धि गरेको छ। बैंकले आफ्नो नाफा २९५ प्रतिशतले बढाएर ५९ करोड ८७ लाख रुपैयाँ पुर्‍याएको हो।

एनएमबी बैंकको नाफा २० प्रतिशतले घटेर ९१ करोड ५९ लाख, हिमालयन बैंकको नाफा ३ प्रतिशतले घटेर ७० करोड २८ लाख, स्टान्डर्ड चार्टर्ड बैंकको नाफा १९.७२ प्रतिशतले घटेर ६९ करोड २१ लाख, नेपाल बैंकको नाफा २.३१ प्रतिशतले घटेर ५८ करोड ८२ लाख र प्रभु बैंकको नाफा ४६.३३ प्रतिशतले घटेर ५५ करोड ८४ लाख रुपैयाँमा पुगेको छ। नेपाल एसबिआई बैंकको नाफा ३८.४३ प्रतिशतले घटेर ५० करोड १५ लाख र सानिमा बैंकको नाफा १३ प्रतिशतले बढेर ४५ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

माछापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख, लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख, सिद्धार्थ बैंकले ३२ करोड ४० लाख, एनआईसी एशिया बैंकले १२ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड ५० लाख र कृषि विकास बैंकले ५७ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यस अवधिमा सिटिजन्स बैंकको नाफा भने ऋणात्मक देखिएको छ। बैंकले पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ घाटा व्यहोरेको छ।