Dhulikhel Eco Banner new

लक्ष्मी ग्रुपले मनायो ५२औँ वार्षिकोत्सव

2.6K
shares

काठमाडौं, ६ पुस । लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औँ वर्ष सफलतापूर्वक पूरा गरेको छ। सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक सानो व्यवसायबाट सुरु भएको ग्रुप आज विविध व्यवसायमा फैलिएको एक अग्रणी व्यावसायिक घरानाको रूपमा स्थापित भएको छ।

पाँच दशकभन्दा बढीको यात्रामा लक्ष्मी ग्रुपले अटोमोबाइल (साना तथा ठूला सवारी साधन र पार्टपुर्जा), इलेक्ट्रोनिक्स, स्टिल, कागज, प्लास्टिक तथा मिठाई उत्पादनलगायत विभिन्न क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेको छ। देशको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको यस ग्रुपले हाल २,००० भन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ।

५२औँ वार्षिकोत्सवको अवसरमा ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। समुदायको स्वास्थ्य र जनचेतनामा योगदान पुर्‍याउने उद्देश्यसहित देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको ग्रुपले जनाएको छ।

त्यसैगरी, लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले धापाखेलस्थित ‘सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी’ लाई शैक्षिक सामग्री तथा आवश्यक सामान सहयोग गरेको छ। साथै, हुण्डाई काठमाडौँले नक्सालस्थित ऐतिहासिक भाटभटेनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरी वातावरण संरक्षण तथा सांस्कृतिक सम्पदा जगेर्नाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।

५२ वर्षको महत्वपूर्ण उपलब्धि हासिल गर्दै लक्ष्मी ग्रुपले व्यावसायिक सफलतासँगै सामाजिक जिम्मेवारीलाई समान महत्व दिने प्रतिबद्धता दोहोर्‍याएको छ। समुदायको हितमा गरिने कार्यले नै व्यवसायलाई दिगो र सफल बनाउने विश्वास ग्रुपले व्यक्त गरेको छ।