Dhulikhel Eco Banner new

सानिमा रिलायन्स लाईफको बीमालेख नवीकरणमा शतप्रतिशत विलम्ब शुल्क छुट

3.12K
shares

काठमाडौं, ६ पुस । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत (लैप्स) भएका बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने पुनर्जागरण अभियान सुरु गरेको छ।

विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ भएका ग्राहकवर्गलाई लक्षित गरी कम्पनीले यो अभियान सार्वजनिक गरेको जनाएको छ। अभियान पौष ६ गतेदेखि पौष २८ गतेसम्म लागू हुनेछ।

कम्पनीका अनुसार पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र विलम्ब शुल्क ९ब्याज० छुटको सुविधा प्रदान गरिनेछ। तर, उक्त सुविधा उपयोग गरेपछि ६ महिनाभित्र बीमालेख समर्पण (सरेन्डर) गरेमा छुट पाएको सम्पूर्ण रकम भुक्तानी गरी मात्र बीमालेख समर्पण गर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी, बीमालेख परिपक्व हुन १ वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेका बीमालेखमा भने विलम्ब शुल्क छुटको सुविधा लागू नहुने कम्पनीले स्पष्ट गरेको छ। सामान्य अवस्थामा बीमालेख व्यतीत हुँदा बीमितले बीमा सुरक्षा (रक्षावरण) गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्कसमेत भुक्तानी गर्नुपर्ने हुन्छ।

कम्पनीले पुनर्जागरण अभियानको अवसर उपयोग गरी विलम्ब शुल्कमा छुटसहित व्यतीत बीमालेख नवीकरण गर्न ग्राहकहरूलाई आग्रह गरेको छ।

हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित तथा उनीहरूमा आश्रित परिवारको आर्थिक सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ जीवन बीमा अनिवार्य रहेको कम्पनीको भनाइ छ।

ग्राहकहरूले सानिमा रिलायन्स लाईफका देशभर रहेका १६८ शाखा कार्यालयहरू तथा विभिन्न अनलाइन भुक्तानी माध्यमहरू मार्फत यस योजनामा सहभागी हुन सक्नेछन्।