विदेशी मुद्राको सञ्चिति साढे २ प्रतिशतले बढ्यो
वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:२८
shares

काठमाडौं, ३० कात्तिक । चालु आर्थिक वर्षको तीन महिनामा विदेशी मुद्राको सञ्चिति २.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको असोज महिनाको विवरण अनुसार विदेशी मुद्राको सञ्चिती बढेर १२४६ अर्ब २२ करोड पुगेको हो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस्तो सञ्चिति १२१५ अर्ब ८० करोड रहेको थियो ।
अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई रु.११०१ अर्ब ६० करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई रु.१४४ अर्ब ६२ करोड रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।
















