नयाँ स्टक र कमोडिटीज एक्सचेन्जलाई लाइसेन्स वितरणका लागि अध्ययन समिति गठन
वि.सं.२०८० वैशाख १७ आइतवार १४:४९
shares

काठमाडौं, १७ वैशाख । नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्जलाई लाइसेन्स वितरण गर्नका लागि अध्ययन समिति गठन गरिएको छ । आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले अध्ययन समिति गठन गरेको हो ।
समितिको संयोजकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतम रहेका छन् । समितिको सदस्यमा अर्थमन्त्रालका सह सचिव रिचेश कुमार शाक्य, राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री रहेका छन् । यस्तै, मूल्याकंन समितिमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक अम्बिका गिरीसमेत सदस्य छन् । समितिलाई आवेदनको मूल्यांकन गरी सिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।
बोर्डले नयाँ स्टक र कमोडिटीज एक्सचेन्जका लागि माग गरेको आवेदनमा ७ वटा आवेदन परेका छन् । जसमा नयाँ स्टक एक्सचेन्जका लागि ३ र कमोडिटीज एक्सचेन्जका लागि ४ वटा कम्पनीका आवेदन परेका छन् । बोर्डमा नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।
यस्तै, कमोडिटीज एक्सचेन्जतर्फ मल्टी डेरिभेटिभ एक्सचेञ्ज, मल्टी एसेटस् एण्ड डेरिभेटिभ एक्सचेञ्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज र नेपाल मल्टी कमोडिटीज एक्सचेञ्जले निवेदन दिएका छन् । बोर्डले तीन स्टक एक्सचेन्जमध्ये एक र चार कमोडिटीज एक्सचेन्जमध्ये दुई वटा कम्पनीलाई लाइसेन्स प्रदान गर्ने छ ।















