Dhulikhel Eco Banner new

संस्कृतिको संरक्षणमा समर्पित र हिन्दु राज्यका पक्षधरलाई मत हाल्न महासंघको आग्रह

6.53K
shares

काठमाडौं, ३० कात्तिक । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा भाषा, धर्मको संरक्षणमा समर्पित र हिन्दु राज्यको पक्षमा रहेका दलहरुलाई मतदान गर्न विश्व हिन्दु महासंघले आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंले आगामी चुनावमा धर्म संस्कृतिको संरक्षण गर्ने दल तथा नेताहरुलाई मतदान गर्न आग्रह गरेको हो ।

विश्व हिन्दु महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जारी गरेको विज्ञप्तिमा ‘महासंघमा आवद्ध सम्पूर्ण संघ संस्थाहरु, विशिष्ट आजीवन सदस्यहरु, शुभेच्छुक र सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा मन, वचन र कर्मले संकल्प गरी यही २०७९ मंसीर ४ गते हुने निर्वाचनमा आफ्नो भाषा, धर्म, संस्कृतिको संरक्षणमा समर्पित र हिन्दु अधिराज्यका पक्षधर दलका नेतालाई मतदान गर्न हन महासंघको आग्रह गर्दछ,’ भनिएको छ ।

विश्व हिन्दु महासंघ संसार भरिका हिन्दु ॐकार परिवारको छाता संस्था हो । विश्वका विभिन्न भागमा छरिएर रहेका हिन्दु धर्म संस्कृतिका अनुयायीहरुलाई एक सूत्रमा बाँधी संगठित तुल्याउने र नेपालको हिन्दु अधिराज्यको पहिचानलाई अक्षुण राख्ने उद्देश्य लिई विश्व हिन्दु महासंघ नेपाल लगायत संसारका विभिन्न मुलुकहरुमा आफ्नो शाखा विस्तार गरी निरन्तर सक्रिय रहि आएको विज्ञप्तिमा भनिएको छ ।

‘संसारको एक मात्रै हिन्दु अधिराज्यको पहिचान भएको हाम्रो देश नेपाललाई विधर्मीहरुको इशारामा केही निश्चित दलका नेताहरुले आर्थिक प्रलोभनमा परी जन चाहना विपरित धर्म निरपेक्ष गरिएकोमा सम्पूर्ण हिन्दुहरुको आस्थामा चोट पुगेको विज्ञप्तिमा भनिएको छ ।

पटक–पटक स्वार्थी र विधर्मी नेताहरुलाई मतदान गरी पठाउँदा नेपालको भाषा, धर्म, संस्कृति, सामाजिक सद्भाव, परम्परागत मूल्य मान्यता एवम् सांस्कृतिक एकता दिनानुदिन विचलन हुन पुगेको महसुस गरिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।