दशैँ पछिको पहिलो हप्ता : नेप्सेमा करिब १७ अंकको वृद्धि
वि.सं.२०७९ असोज २९ शनिवार १२:३८
shares

काठमाडौं, २९ असोज । यो साता शेयर बजारमा सामान्य सुधार देखिएको छ । यो हप्ता शेयर बजार अघिल्लो कारोबारभन्दा करिब १७ अंकले बढेको हो । यो दशैँ पछिको पहिलो हप्ता हो र शेयर बजार १६ दशमलव ८७ अंकले बढेको छ ।
दशैँ अघिको कारोबारमा नेप्से परिसूचक १८५३ दशमलव ७६ विन्दुमा रोकिएको थियो । दशैँ पछि बजार खुलेको पहिलो साता शेयर बजार १६ दशमलव ८७ अंकले बढेर १८७० दशमलव ६३ विन्दुमा पुगेको हो । साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार उकालो लागेसँगै नेप्से सकारात्मक देखिएको हो ।
यस साता सेन्सेटिभ इण्डेक्स ३.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४२ अंक बढेको छ ।
यस साता नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । दैशैँअघिको साता दैनिक औषतमा ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७८ करोडको शेयर कारोबार भएको छ । यस साताको कारोबार रकम अघिल्लो साताको तुलनामा ८.८६ प्रतिशत बढेको हो । त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ५.४९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ६.९४ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब १ प्रतिशत बढेको छ । दशैँ अघि २६ खर्ब ६४ अर्ब रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता २४ अर्ब रुपैयाँ बढेर २६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।
यो साता १३ उपसमूहमध्ये १ उपसमूहको मात्र शेयरमूल्य घटेको छ भने १२ उपसमूहको परिसूचक बढेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९६ प्रतिशत बढेको छ । त्यसैगरी, यस साता विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ । होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस साता व्यापार उपसमूहको परिसूचक ०.२६ प्रतिशत घटेको छ । अंकका आधारमा यस साता उत्पादन तथा प्रशोधनको परिसूचक सर्वाधिक १५६.२४ अंक बढेको छ ।
















