प्राइम कमर्सियल बैंकका संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आह्वान
वि.सं.२०८२ चैत २९ आइतवार ०७:०६
shares

काठमाडौं — प्राइम कमर्सियल बैंक लिमिटेडका विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्। बैंकले प्रकाशित गरेको सूचनाअनुसार इच्छुक संस्थापक शेयरधनीहरूलाई उक्त शेयर खरिदका लागि आवेदन दिन आह्वान गरिएको हो।
बैंक सञ्चालक समितिको २०८२ साल फागुन २७ गते बसेको ५५६औं बैठकको निर्णयअनुसार संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाइएको जनाइएको छ। सूचनामा उल्लेख भएअनुसार हाल कायम रहेका संस्थापक शेयरधनीहरूले प्राथमिकताका आधारमा यी शेयर खरिद गर्न सक्नेछन्।
बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा सम्पर्क राखी आवेदन दिन आग्रह गरेको छ। तोकिएको समयसीमाभित्र कुनै निवेदन नपरेमा प्रचलित कानुनअनुसार अन्य नयाँ लगानीकर्तालाई समेत उक्त शेयर बिक्री प्रक्रिया खुला गरिने जनाइएको छ।
यस सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ। बिक्री गर्ने संस्थापकको नाम तथा शेयर मूल्यसम्बन्धी थप जानकारी बैंकको कम्पनी सचिवको कार्यालयबाट प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।



















