Dhulikhel Eco Banner new

सोपान फर्मास्यूटिकल्सको आईपीओमा ७ गुणाभन्दा बढी आवेदन

1.16K
shares

काठमाडौं, ९ वैशाख । सोपान फर्मास्यूटिकल्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा उल्लेख्य आकर्षण देखिएको छ। कम्पनीले सर्वसाधारणका लागि खुलाएको आईपीओमा अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म करिब ७ गुणाभन्दा बढी आवेदन परेको छ।

कम्पनीले वैशाख ३ गतेदेखि ८ गतेसम्म ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्काशन गरेको थियो। उक्त अवधिसम्म २९ लाख १४ हजार ४४३ जना आवेदकबाट ३ करोड ३२ लाख ६७ हजार ५० कित्ताका लागि आवेदन परेको छ, जसले उच्च ओभरसब्स्क्रिप्सन देखाएको छ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ४ लाख २९ हजार कित्ता शेयर बाँडफाँट गरिसकेको थियो। दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाइएको हो। कुल जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न कम्पनीले अनुमति पाएको थियो।

उक्त निष्काशनमध्ये १ लाख ७१ हजार ६०० कित्ता कर्मचारी र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी सिंगल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीका अनुसार साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउन्ट गरिएको फिर्ता अवधि ११.३५ वर्ष रहेको छ। साथै, आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ भने खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख रुपैयाँभन्दा बढी रहेको जनाएको छ।